
काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशनबाट रमेश खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन
३० चैत, काठमाडौं । काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशनले रमेश खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ। शनिबार धुम्बाराहीमा सम्पन्न अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि संस्थापक अध्यक्ष रमेश खत्रीकै नेतृत्वमा कार्यसमितिको निर्वाचन सम्पन्न गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश श्रेष्ठ , उपाध्यक्षमा सन्तोष गौतम , सचिवमा सरोज कुमार बोहरा सहसचिवमा चन्दन प्रसाद गुप्ता , कोषाध्यक्षमा ईश्वर श्रेष्ठ र सदस्यहरुमा शान्ता कुमारी कँडेल , दीपक तामाङ , लक्ष्मण नेपाल , रामकुमार अधिकारी , सुनिल महर्जन , इन्दिरा सिग्देल र सागर खडका रहेका छन् ।
त्यसअघि, अधिवेशनको समुद्घाटन अध्यक्ष रमेश खत्रीको सभापतित्वमा र बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा शनिबार धुम्बाराहिस्थित स्मार्ट होटेलमा उक्त अधिवेशनको समुद्घाटन समारोह सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री महर्जनले ड्राइभिङ स्कुलका समस्याहरु समाधान गर्न बागमती प्रदेश सरकारले काम गर्ने आश्वासन दिए। बागमती प्रदेशमा रहेका सवारी तालिम केन्द्रहरुको लागि मापदण्ड र कार्यविधि तयार गर्ने उनले बताए । मापदण्ड पुगेका केन्द्रहरुको जरिवाना छुटसहित असार मसान्तसम्ममा दर्ता गर्ने प्रक्रिया शुरु गर्ने उनको भनाइ थियो।
मन्त्री महर्जनले दुर्घटनाका इन्स्योरेन्स रकम वृद्धि गर्ने, यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउनेतर्फ प्रदेश सरकार लागिरहेको जानकारी दिए। नागरिक एपमा सवारी चालक अनुमतिपत्र र ब्लू बुक राख्ने प्रावधान सरकारले ल्याएको पनि उनले जनाए ।
कार्यक्रममा संघका अध्यक्ष रमेश खत्रीले २०८१ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको काठमाडौं ड्राइभिङ स्कुल संघले ड्राइभिङ व्यवसायीहरुका कामको सिलसिलामा केही समस्या आएमा सम्बन्धित निकायसङ्ग समन्वय र सहकार्य गरेर समाधान गर्ने बताए। संघले सामाजिक उत्तरदायित्व अन्तर्गत सडक सुरक्षा , ट्राफिक नियम तथा सवारी ऐनको पालना गर्न सचेतना जगाउने काम पनि गर्ने उनले बताए ।
कार्यक्रममा संघमा योगदान दिने सदस्यहरु तथा महिला व्यवसायीहरुलाई सम्मान प्रदान गरिएको थियो ।