
काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशन सम्पन्न हुँदै
३० चैत, काठमाडौं । काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशन शुरु भएको छ। संघका अध्यक्ष रमेश खत्रीको सभापतित्वमा र बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा शनिबार धुम्बाराहिस्थित स्मार्ट होटेलमा उक्त अधिवेशनको समुद्घाटन समारोह सम्पन्न भएको छ। अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
समुद्घाटन समारोहमा प्रमुख अतिथि मन्त्री महर्जनले ड्राइभिङ स्कुलका समस्याहरु समाधान गर्न बागमती प्रदेश सरकारले काम गर्ने आश्वासन दिए। बागमती प्रदेशमा रहेका सवारी तालिम केन्द्रहरुको लागि मापदण्ड र कार्यविधि तयार गर्ने उनले बताए । मापदण्ड पुगेका केन्द्रहरुको जरिवाना छुटसहित असार मसान्तसम्ममा दर्ता गर्ने प्रक्रिया शुरु गर्ने उनको भनाइ थियो।
मन्त्री महर्जनले दुर्घटनाका इन्स्योरेन्स रकम वृद्धि गर्ने, यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउनेतर्फ प्रदेश सरकार लागिरहेको जानकारी दिए। नागरिक एपमा सवारी चालक अनुमतिपत्र र ब्लू बुक राख्ने प्रावधान सरकारले ल्याएको पनि उनले जनाए ।
कार्यक्रममा संघका अध्यक्ष रमेश खत्रीले २०८१ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको काठमाडौं ड्राइभिङ स्कुल संघले ड्राइभिङ व्यवसायीहरुका कामको सिलसिलामा केही समस्या आएमा सम्बन्धित निकायसङ्ग समन्वय र सहकार्य गरेर समाधान गर्ने बताए। संघले सामाजिक उत्तरदायित्व अन्तर्गत सडक सुरक्षा , ट्राफिक नियम तथा सवारी ऐनको पालना गर्न सचेतना जगाउने काम पनि गर्ने उनले बताए ।
कार्यक्रममा संघमा योगदान दिने सदस्यहरु तथा महिला व्यवसायीहरुलाई सम्मान प्रदान गरिएको थियो ।