ओली शासनकालमाथि वरिष्ठ पत्रकार घिमिरेको कठोर प्रश्न: दुर्घटना होइन, राज्यकै असफलता
काठमाडौं । वरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वकाललाई लिएर गम्भीर प्रश्न उठाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गरेका छन्। उनले गत भदौ २३ गते केही किशोर–किशोरीहरूको रहस्यमय मृत्युको प्रसंग उठाउँदै ती घटनालाई सामान्य दुर्घटना मात्रै मान्नु धेरै ठूलो भूल हुने उल्लेख गरेका छन्। उनका अनुसार ती घटना अक्षम्य महाअपराधको श्रेणीमा पर्छन् र राज्यको गम्भीर जिम्मेवारी तथा जवाफदेहिता आवश्यक छ।
घिमिरेले ओली नेतृत्वको करिब नौ वर्षको अवधिमा देशको आर्थिक, सामाजिक र सुशासनका सूचकहरू झनै कमजोर बन्दै गएको दाबी गरेका छन्। उनले ओली पहिलोपटक प्रधानमन्त्री हुँदा मुलुकको सार्वजनिक ऋण करिब ६ खर्ब रुपैयाँको हाराहारीमा रहेको तर नौ वर्षको अवधिमा त्यो बढेर करिब २८ खर्ब रुपैयाँ पुगेको उल्लेख गरेका छन्। यसरी थपिएको २२ खर्ब रुपैयाँ ऋण कहाँ र कसरी खर्च भयो भन्ने प्रश्न उठाउँदै उनले “हिसाब–किताब देखाउनु पर्दैन, दमकको भ्युटावर देखाएर पुग्छ” भन्ने कटाक्ष गरेका छन्।
स्वास्थ्य क्षेत्रतर्फ संकेत गर्दै घिमिरेले ओली पहिलोपटक प्रधानमन्त्री हुँदा प्रतिहजार शिशु मृत्युदर ३३ बाट घटेर २५ मा झरिरहेको अवस्थामा रहेको तर पछिल्ला वर्षहरूमा फेरि २५ बाट बढेर २७ पुगेको बताएका छन्। यसले स्वास्थ्य सेवा र राज्यको प्राथमिकतामाथि गम्भीर प्रश्न उठाउने उनको टिप्पणी छ।
भ्रष्टाचारको अवस्थाबारे पनि उनले आलोचना गरेका छन्। ओली प्रधानमन्त्री हुँदा नेपाल भ्रष्टाचारको ‘ग्रे लिस्ट’बाट मुक्त भइसकेको भए पनि केही वर्षभित्रै फेरि त्यही सूचीमा पर्नु परेको भन्दै उनले यसलाई सुशासनको असफलताको प्रमाणका रूपमा प्रस्तुत गरेका छन्।

बालस्वास्थ्य र पोषणको सूचक उल्लेख गर्दै घिमिरेले कुपोषित बालबालिकाको प्रतिशत ३१ बाट २४ मा झरेको अवस्थामा ओली सत्तामा आएको तर नौ वर्षको अवधिमा त्यो दर २४ प्रतिशतभन्दा तल झर्न नसकेको बताएका छन्। यसले सामाजिक क्षेत्रको सुधार अपेक्षित गतिमा अघि बढ्न नसकेको उनको निष्कर्ष छ।
यी सबै आधार प्रस्तुत गर्दै घिमिरेले ओली वा उनको पार्टी नेकपा (एमाले) फेरि सत्तामा पुग्ने अवस्था नबनोस् भन्ने स्पष्ट धारणा राखेका छन्। उनका अनुसार विगतमा जस्तै फेरि ‘हंग पार्लियामेन्ट’ बने सत्ताको साँचो पुनः ओलीको हातमा पुग्ने जोखिम छ। त्यसैले एमाले बाहेक कुनै एक पार्टीको स्पष्ट बहुमत अहिलेको आवश्यकता भएको उनको भनाइ छ।
यस क्रममा उनले केहीले नेपाली कांग्रेस पनि छोटो समय सत्ताको नेतृत्व गरेको र सोही अवधिमा गगन थापा स्वास्थ्य मन्त्री बनेको कारण कांग्रेस पनि दण्डित हुनुपर्ने तर्क राखेको उल्लेख गरेका छन्। तर आफ्नो विचारमा स्वास्थ्य मन्त्रीका रूपमा गगन थापाले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति रोक्न केही प्रयास गरेको देखिने भन्दै उनले त्यसलाई अलग रूपमा मूल्यांकन गर्नुपर्ने बताएका छन्।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
