ओलीले चाले झापामा यस्तो कदम

0
1

 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओली ले यसपटक आफ्नो परम्परागत चुनावी शैलीमा उल्लेख्य परिवर्तन गरेका छन् । विगतका निर्वाचनमा सीमित सभा र औपचारिक भेटघाटमार्फत चुनाव जित्दै आएका ओली अहिले भने मतदाताको घर–घरमै पुगेर प्रत्यक्ष संवाद गर्ने रणनीतिमा उत्रिएका छन् । जसरी पनि जनताको मन जितेर निर्वाचन जित्ने लक्ष्यसहित ओलीले झापा–५ लाई केन्द्रमा राख्दै सम्पूर्ण शक्ति परिचालन गरेका छन् ।

पार्टी स्रोतका अनुसार झापा–५ लाई आफ्नो किल्लाका रूपमा हेरेका ओलीले यसपटक मतदातासँगको दूरी घटाउने र उनीहरूको दैनिक समस्या, गुनासा तथा अपेक्षा प्रत्यक्ष सुन्ने अभियान थालेका हुन् । बद्लिएको रणनीतिअनुसार ओली आफैँ सम्भव भएसम्म टोल–टोल र घर–घर पुग्नेछन् । आफू पुग्न नसकेका स्थानमा निकटका कार्यकर्ता खटाएर मतदाताका गुनासा टिपोट गर्न लगाइएको छ, जसलाई पछि नीति तथा कार्यक्रमसँग जोडेर सम्बोधन गर्ने तयारी गरिएको छ ।

झापा–५ मा यसपटकको मुख्य प्रतिस्पर्धा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह बीच हुने आकलन गरिएको छ । बालेनको बढ्दो लोकप्रियता र युवामाझको आकर्षणले झापामा रोचक प्रतिस्पर्धा सिर्जना गरिरहेको बेला ओलीले पनि आक्रामक घरदैलो अभियानमार्फत आफ्नो पकड बलियो बनाउन खोजिरहेका छन् । बालेन दुई चरणमा झापा पुगेर मतदाता भेटघाट र त्यसपछि अन्य क्षेत्रमा ‘रोड सो’मा सक्रिय भइरहेका छन् भने ओली भने प्रत्यक्ष घरदैलो अभियानमै केन्द्रित देखिएका छन् ।

माघ ६ मा उम्मेदवारी दर्ता गरेयता ओली अधिकांश समय झापामै बिताइरहेका छन् । उम्मेदवारी दर्तापछि केही दिन काठमाडौँ बसेर पुनः माघ अन्तिम साता झापा पुगेका ओलीले करिब एक साताको अवधिमा झापा–५ का विभिन्न गाउँ र टोलमा पुगेर मत माग्नुका साथै स्थानीयका समस्या सुने । त्यसपछि केही दिन काठमाडौँ बसेका ओली आइतबार फेरि झापा फर्किसकेका छन् ।

गत माघ २३ गते झापा आएर सात दिनमा करिब ८० वटा गाउँ घुमेका ओलीले पछिल्लो पटक झापा ओर्लनासाथ शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायसँगको अन्तरक्रियामा सहभागिता जनाएका थिए । त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै रहनेछन् । यस अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा दैनिक कम्तीमा ६–७ स्थानमा पुग्ने गरी घरदैलो कार्यक्रमको कार्यतालिका बनाइएको छ । पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र क्षेत्रीय तहका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिहरू समेत घरदैलोमा परिचालित छन् ।

दाहालका अनुसार ओलीको अनुपस्थितिमा पनि घरदैलो अभियान रोकिने छैन । स्थानीय टोल र प्रत्येक मतदाताका घरमा पुगेर सुझाव सङ्कलन गर्ने, पार्टीसँग प्रत्यक्ष जोड्ने र निर्वाचनमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने काम निरन्तर चलिरहेको छ । झापा–५ अन्तर्गतका २९ वटै वडाका सबै टोलमा पुगेर मतदातालाई मतदानमा सहभागी हुन र पार्टी अध्यक्ष ओलीलाई विजयी गराउन आग्रह गरिएको एमालेले जनाएको छ ।

पार्टीका अनुसार जनताबाट आएका सुझावलाई नीतिगत रूपमा समेट्दै स्थानीय आवश्यकताअनुसार भूमिका खेल्ने प्रतिबद्धता गरिएको छ । यसरी आक्रामक घरदैलो र प्रत्यक्ष संवादमा उत्रिएका ओलीको बद्लिएको चुनावी रणनीतिले झापा–५ को चुनावी माहोललाई अझ रोचक बनाएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here