

ओलीको नेतृत्वमा बहुमतसहित सरकारमा फर्कने उपमहासचिव ज्ञवालीको दाबी
काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले कतिपय नेताहरुले महाधिवेशनमा उम्मेदवारी दिएर पार्टीको आन्तरिक लोकतन्त्र जोगाइदिएको भन्नु कुतर्क मात्र भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “सर्वसम्मति र लोकतन्त्र विपरीतार्थक शब्द होइनन् । सर्वसम्मति र प्रतिस्पर्धा दुवै लोकतान्त्रिक पद्धति हुन् । कतिपय नेताहरुले महाधिवेशनमा प्रतिस्पर्धा गरेर एमालेको आन्तरिक लोकतन्त्र जोगाएको म मान्दिनँ । तर साथीहरुको प्रतिस्पर्धालाई अन्यथा लिएको पनि छैन । यत्ति हो, सर्वसम्मति हुँदा लोकतन्त्र बलियो हुन्थ्यो, प्रतिस्पर्धाले पनि लोकतन्त्र कमजोर भएको छैन ।”
महाधिवेशन हलमा अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई उपाध्यक्षमै बसेर सर्वसम्मत जाऊँ भनेर भावनात्मक आग्रह गर्दा कसैले पनि अस्वीकार नगरेको दाबी ज्ञवालीले गरे । उनले थपे, “पार्टी भनेको सदैव वादविवाद गरिरहने थलो होइन । महाधिवेशनले विचारको टुंगो लगाएपछि सधैंभरि विवाद, बहस र अन्योल कायम गर्नु हुँदैन । पाइला पाइलामा नेतृत्वलाई चुनौती दिएमात्र पार्टी लोकतान्त्रिक हुन्छ भन्ने छैन । नेतृत्वले पार्टीलाई सफल बनाउँदै जान्छ भने चुनौती किन दिनुपर्यो ? एमालेमा फरक मत वा विचार राख्दा दण्डित हुने भन्ने पनि होइन । नेतृत्वका पनि कतिपय सीमा हुन्छन् । त्यही भएर कमिटी, फाँट, विभाग, बहुपद चाहिएको हो ।”
पार्टीको स्थायी कमिटीको बैठकमा १० बुँदे सहमति पक्षधर नेताहरुले ओलीको नेतृत्व स्वीकार गरेकाले नै उपाध्यक्ष, सचिव, खुला केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याउन सकेको उपमहासचिव ज्ञवालीले बताए । उनले थपे, “पार्टीको स्थायी कमिटीको बैठकमा उहाँहरुले एकै स्वरमा अरु कुरामा विमति छन् तर तपाईंको नेतृत्वमा अघि बढ्ने हो भनेर मूलधारमा फर्केका हौं भन्नुभएकै हो । त्यसैकारण उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक लोकप्रिय मत पाउनुभयो । सचिव पदमा गोकर्ण विष्ट सर्वाधिक मत र खुला केन्द्रीय सदस्यमा ठाकुर गैरले दोस्रो लोकप्रिय मत पाउनुभयो । आम एमाले कार्यकर्तामा ओलीको नेतृत्वमाथि कुनै द्विविधा थिएन र छैन ।”
उनले आगामी निर्वाचनमा ओलीको नेतृत्वमा बहुमतसहित सरकारमा फर्कने दाबी पनि गरे । उनले भने, “महाधिवेशनले एमालेलाई सुदृढ, बलियो र एकताबद्ध अनि बहुमत प्राप्त पार्टी बनाउन अनि सरकारमा फर्कन म्यान्डेट दिएको छ । त्यसैले विपक्षी राजनीतिक दलहरुले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने आँट गरेका छैनन् । विचार नमिले पनि गठबन्धन गरिरहेका छन् । यो एमालेसँगको प्रतिस्पर्धामा पराजयको संकेत हो ।”