ओटीटी सेवाको दबाबमा नेपाल टेलिकमको मुनाफा खुम्चियो
काठमाडौं । नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले कम्पनीको नाफामा उल्लेख्य गिरावट आएको देखाएको छ। अर्बौंको कारोबार गर्ने टेलिकमले यस अवधिमा खुद मुनाफा घट्दै गएको संकेत सार्वजनिक गरेको हो।
टेलिकमका अनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीको खुद मुनाफा १२.९८ प्रतिशतले घटेर ४ अर्ब १६ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ४ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो।
मुनाफामा गिरावट आए पनि सञ्चालन आय भने सामान्य रूपमा बढेको देखिन्छ। यस अवधिमा टेलिकमको कुल सञ्चालन आय १.७३ प्रतिशतले वृद्धि हुँदै १७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। तर कुल आय भने १.५ प्रतिशतले घटेर १९ अर्ब २२ करोड रुपैयाँमा झरेको छ। कर अघिको मुनाफा तथा ब्याज, कर र ह्रासकट्टी अघिको मुनाफा पनि क्रमशः ४.५९ प्रतिशत र २.६० प्रतिशतले घटेको छ।
कम्पनीले आम्दानी र नाफामा आएको दबाबको मुख्य कारण भाइबर, ह्वाट्सएपजस्ता ओटीटी सेवाको तीव्र विस्तारलाई मानेको छ। यस्ता सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय आगमन कलसँगै परम्परागत भ्वाइस र एसएमएस सेवाबाट हुने आम्दानीमा उल्लेख्य कमी आएको टेलिकमको भनाइ छ। विशेषगरी अन्तरआबद्धता (इन्टरकनेक्सन) आय मात्रै ६.१४ प्रतिशतले घटेको छ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थामा गरिएको लगानीबाट प्राप्त हुने ब्याजदर घट्दा ब्याज आम्दानीमा ठूलो असर परेको छ। ब्याज आम्दानी ३२ प्रतिशतले घट्दै करिब ७४ करोड ६३ लाख रुपैयाँले कमी आएको वित्तीय विवरणमा उल्लेख छ।
खर्चतर्फ हेर्दा कर्मचारीसम्बन्धी खर्च ११.५ प्रतिशतले बढेको छ, जसले नाफामा थप दबाब सिर्जना गरेको छ। कर्मचारीहरूको सामूहिक बीमाको प्रिमियम बढ्नु र पेन्सन तथा उपदान कोषको दायित्व मूल्यांकन गर्दा प्रयोग हुने डिस्काउन्ट रेट परिवर्तन हुनु खर्च वृद्धिको प्रमुख कारण बनेको छ।
सेवाको दररेट निर्धारणसम्बन्धी नीतिगत परिवर्तन तथा विकट क्षेत्रमा सेवा विस्तार गर्दा लाग्ने उच्च लागतका कारण अपेक्षित आम्दानी हासिल गर्न नसकेको टेलिकमले जनाएको छ।
वित्तीय सूचकअनुसार कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ४६ रुपैयाँ २७ पैसा कायम भएको छ। जिन्सी मौज्दातमा गरिएको खर्च व्यवस्था १८ करोड ३५ लाख रुपैयाँले बढेको छ भने वैदेशिक मुद्रा सटही दरमा आएको परिवर्तनका कारण सटही नाफा भने १५० प्रतिशतले बढेको देखिन्छ।
यसैबीच, चालू करको दायित्व अघिल्लो वर्षको तुलनामा ५५.५६ प्रतिशतले बढ्नुले पनि खुद मुनाफा घट्नमा भूमिका खेलेको टेलिकमको स्पष्टोक्ति छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
