
एमाले सचिव लेखराज भट्टले लगाए सभामुख माथि यस्तो आरोप
धनगढी पुष ७ । नेकपा एमालेका सचिव लेखराज भट्टले संघीय संसदका सभामुखले आफ्नो पदीय मर्यादा बिर्सिएको आरोप लगाएका छन्। मंगलबार गेटा बिमानस्थमा आयोजित पत्रकार सम्मेलनमा उनले सभामुख सापकोटाले आफ्नो भुमिका बिर्सिएको बताएका हुन्। संसदमा एमाले गरिरहेको बिरोधको बारेमा पत्रकारहरुले सोधेको प्रश्नमा परमादेशबाट आएको सरकारले अहिलेको गतिरोध रोक्न नसक्ने बताए।
‘सभामुख सभामुख भएका छैनन्, उनी पार्टीका दूत भएर आएका छन्,’ सचिव भट्टले भने, ‘सदन कसरी चलाउनु पर्छ भन्ने उनलाई ज्ञान नै छैन । सदनलाई कसरी अगाडि बढाउने, संसदीय मर्यादा कसरी राख्नु पर्छ भन्ने उनलाई ज्ञान नै छैन ।’
भट्टले परमादेशबाट आएको सरकारले जे गर्नु पर्थ्यो, त्यही गरिरहेको बताए । उनले यो सरकारबाट नागरिकलाई धेरै अपेक्षा नरहेको समेत दाबी गरे । भट्टले एमसिसीको बारेमा एमाले पार्टीभित्र कुनै दुबिधा नरहेको प्रष्ट पारे। ‘पहिले त सरकारले सदनमा यो बिषय ल्याउनुपर्यो, अनि के गर्ने भन्ने हुन्छ,’ भट्टले भने, ‘गठबन्धनवाला सरकारले हामीसँग बहुमत छ भन्दै छ, टेबुल गरे हुन्छ त। हाम्रो त सहयोग चाहिन्छ भनेकै छैन।’