
एमाले नेता रिजालको अभिब्यक्तिले गठबन्धनमा तरंग
झापा १४ माघ । एमाले नेता रामप्रसाद रिजालले बर्तमान समयको गठबन्धन लामो समय नटिक्ने बताएका छन् । कांग्रेसलाई पार्टी भित्रकै प्रभावशाली नेताहरू शेखर कोईराला तथा गगन थापाको समूहले गठबन्धन तोड्न दबाब दिएकोले लामो समय यो गठबन्धन नटिक्ने बताएका हुन् । उनले भने, ‘संविधानले दिएकै समयमा स्थानीय चुनाव गर्नुपर्ने र ५ दलीय गठबन्धन तोड्नु पर्ने चर्को दबाव दिएपछि देउवा गठबन्धन तोड्ने निष्कर्शमा पुगेका बुझ्नमा आएको छ ।’
कांग्रेसले गठबंधन तोड्ने वित्तिकै अब सरकार पनि परिवर्तन हुने उनले बताए । उनले भने, ‘अब बन्ने चुनावी सरकारको नेतृत्व नेकपा एमाले सबै भन्दा ठूलो दल भएकोले जनमतलाई कदर गर्दै एमालेका अध्यक्ष राजनेता केपी शर्मा ओली अबको प्रधानमन्त्री बन्ने निश्चित छ ।’ ओली नेतृत्वको सरकारले नै स्थानीय तह प्रदेश र केन्द्र तीनै तहको चुनाव गराउने नेता रिजालले ठोकुवा गरे ।
राष्ट्रीय सभाको चुनावमा जसपालाई १ नम्बर प्रदेश मा गठबन्धनका दलहरु कांग्रेस, माओवादी र एकिकृत समाजवादीले अन्तर्घात गरेर हराएको उनले बताए । उनले भने, ‘जसपालाई पनि गठबन्धनबाट बाहिरिने दबाब परेकोले पनि अब ५ दलीय गठबंधन तोडिने भए संगै प्रचण्ड र माधव नेपालहरू रूवाबासी गर्न थालेका छन् ।’