उत्तेजक भाषणले देश बन्दैन, समाधानका लागि कानुन सुधार जरुरी : गगन थापा
काठमाडौं । गगनकुमार थापा ले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले समस्याको जरो पहिचान गरेर समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
नेपाली कांग्रेस का सभापति थापाले कुनै पनि विकास निर्माणका काम ढिला हुँदा भावनात्मक आक्रोश व्यक्त गरेर मात्र परिणाम नआउने स्पष्ट पारे । राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र साह ले सडकसहित विकासका कामको जिम्मा लिएर अघि नबढाउनेलाई रुखमा बाँध्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै थापाले देश निर्माण त्यस्तो शैलीबाट सम्भव नहुने बताए ।
“यहाँको एयरपोर्टमा जहाज ल्यान्ड गरेन भनेर पाइलटलाई कोर्रा हानेर हुँदैन । त्यसको समस्या हामीले पहिचान गर्नुपर्छ,” उनले भने, “सडक किन ढिला बनिरहेका छन् ? कानुनमा समस्या छ । त्यसैले मैले ४१ वटा कानुन फेर्नुपर्छ भनेको छु । कुनै साथीले भनेजस्तो सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन ।”
थापाले विकासको ढिलाइको मूल कारण नीतिगत जटिलता र कानुनी अवरोध भएको दाबी गरे । उनले दीर्घकालीन सुधारका लागि संरचनात्मक परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै भावनामा बगेर होइन, नीति सुधारबाट अघि बढ्नुपर्ने धारणा राखे ।
आगामी पाँच वर्षका लागि देशको नेतृत्व लिन कांग्रेसका सबै नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने उनले बताए । “पार्टीका साथीहरू घरघर गइदिनुपर्छ । मैले सर्लाही–४ मै मिहिनेत गर्नुपर्छ । तपाईंहरू हरेक जना आफैं उम्मेदवार बनेर मतदातामाझ जानुपर्छ,” उनले भने, “२०८२ सालमा कांग्रेसको रुख चिह्नमा मत हाल्नु नपर्ने एउटा कारण छैन । देशलाई सुधार गरेर सम्हाल्दै लैजाने तागत कांग्रेसमा छ । अबको पाँच वर्षको समय खेर नफ्याँकौँ ।”
उनले सामाजिक सञ्जालमा लेखेर मात्रै मत नआउने पनि स्पष्ट पारे । “सामाजिक सञ्जालमा लेखेर मात्रै नबस्नुस् । तपाईंको गोडा चलाउनुस्, हात चलाउनुस्, मुख चलाउनुस्, मतदातालाई ढोग्नुस्,” उनले भने, “हिजोका तमाम खराब कुरा छाड्छु, राम्रो कुरा बोक्छु भनेर हामी जानुपर्छ । त्यसकै लागि हामीले कांग्रेसको नेतृत्व फेरेका हौँ ।”
थापाको भनाइले चुनावी प्रतिस्पर्धाका बीच विकास, नीति सुधार र संगठन सुदृढीकरणलाई मुख्य एजेन्डा बनाउने संकेत दिएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
