इक्यानको भावी नेतृत्वका लागि दिपकराज भुसालले २६ बुँदे चुनावी एजेन्डा सार्वजनिक गरे
२७ पुष, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचन २०८२ नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले स्पष्ट दृष्टि, ठोस योजना र संगठित टिमसहित चुनावी मैदान तताएका छन् । इक्यानलाई व्यवस्थित, मर्यादित र अन्तर्राष्ट्रिय रूपमा स्थापित बनाउने लक्ष्यसहित भुसालले २६ बुँदे चुनावी एजेन्डा सार्वजनिक गरेका छन् ।
काठमाडौंमा आयोजित उम्मेदवार घोषणा सभामा भुसालले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापन, बजार अनुशासन, शाखा विस्तार, नीतिगत सुधार र इक्यानको अन्तर्राष्ट्रिय पहिचानलाई केन्द्रमा राखेर एजेन्डा तयार गरिएको स्पष्ट पारे । उनले भने, “२०२६ को नयाँ युगसँगै हाम्रो समूहले इक्यानलाई नयाँ उचाइमा पुर्याउने २६ एजेन्डा अघि सारेको छ । यी एजेन्डाले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित मात्र होइन, विश्वसनीय र सम्मानित बनाउनेछन् ।”
करिब १२ वर्षदेखि इक्यानमा निरन्तर सक्रिय रहँदै आएका भुसालले संघलाई केवल संस्था होइन, आफ्नो बानी र पहिचानको हिस्सा बनाइसकेको बताए । आगामी कार्यकालमा पूर्ण समय इक्यानकै लागि समर्पित रहने, सदस्यको समस्या र आवश्यकता पर्दा जुनसुकै समयमा उपलब्ध हुने प्रतिबद्धता व्यक्त गर्दै उनले अनुभवी, सक्षम र ऊर्जाशील टिम नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गरे ।
भुसालको समूहबाट सदस्य पदमा विवेक बस्नेत, उद्धव वन, संजीव पाण्डे, नवराज नेपाल, कमल तिम्सिना र दामोदर शर्मा उम्मेदवार रहेका छन् । केन्द्रीय सदस्यमा बसन्त पाण्डे, अशोक कुमार हाथी र अनन्तराज घिमिरे छन् भने सह–कोषाध्यक्षमा गोविन्द खनाल र उमा खड्का पाठक उम्मेदवार बनेका छन् । सचिव पदका लागि सुरज सिलवाल र आशिक कार्की, महासचिवमा भवनाथ हुमागाईं तथा उपाध्यक्षमा रत्न बहादुर भट्टराई, मन्जित ढकाल र विकल्प राज पोखरेल चुनावी दौडमा छन् ।
अनुभव, स्पष्ट एजेन्डा र एकताबद्ध टिमका साथ अघि बढेका दिपकराज भुसालले इक्यानको नेतृत्वलाई नयाँ दिशा दिने दाबी गरेका छन् । चुनाव नजिकिँदै जाँदा उनको २६ बुँदे एजेन्डा र टिमले इक्यानका सदस्यहरूबीच चासो र बहस बढाइरहेको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
