
आफूलाई १७ हजारको हत्यारा भनिरहँदा प्रतिवाद नगरेकोमा कार्यकर्ताप्रती दाहालको असन्तुष्टि
३१ चैत ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई १७ हजार नेपालीको हत्यारा भनिरहँदा पार्टी निकट नेता,कार्यकर्ता र बुद्धिजीवीहरूले प्रतिवाद नगरेकोमा असन्तुष्टि जनाएका छन् । काठमाडौँमा शनिबार ( ३० चैत ) आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले १७ हजार मानिसहरू युद्धको नियमानुसार मारिएको र आफूलाई आरोप लगाउनेहरु इतिहासलाई पछाडि फर्काउन चाहनेहरु भएको बताए ।
दाहालले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्ति प्रक्रियामा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताए । उनले थपे, ‘युद्धको नेतृत्व मैले गरेको हो । मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा म लिन्छु भनेकै थिएँ । तर यति धेरै गलत आरोप लागिराख्दा म विभिन्न बुद्धिजीवी, राजनीतिक दल, सात राजनीतिक दल त्यतिबेला सबैले मिलेर १२ बुँदे समझदारी गरेको हो, शान्ति सम्झौता गरेको हो । त्यही पनि बोलेको कोही पनि मैले त्यति देख्न पाएको छैन । तपाईँहरू पनि कोही बोल्न चाहनुभएको छैन । तपाईँहरू पनि यसमा बोल्नु भन्दा नबोल्नु नै ठिक छ भनेको जस्तो गरेको देख्छु मैले । यो ठिक छैन । यसरी शान्ति प्रक्रियालाई साँचो अर्थमा निष्कर्ष र दिगो बनाउन सकिँदैन । सत्यलाई सत्य भनेर राख्ने आँट हामी गर्न सकिँदैन भने कसरी समाजलाई नयाँ स्थायित्व र रूपान्तरणतिर लैजान सकिन्छ भन्ने प्रश्न म राख्न चाहन्छु ।’
अध्यक्ष दाहालले भने, ‘एकथरी मानिसहरू इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरूले मलाई १७ हजारको हत्यारा भन्छन् । त्यि त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्यो, विद्रोहीले कति के गर्यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ । तर के यो आरोप सत्य हो त ? १७ हजार माओवादीले, अझ प्रचण्डले आजभोलि त । भन्ने मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको कुरै छोडिदिनुस् । व्यक्तिको कुरा गर्ने हो भने ।’
सोही कार्यक्रममा अध्यक्ष दाहालले सबै नेताहरू उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति जनाए । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उनको असन्तुष्टि छ । उनले यसको फाइदा निरङ्कुश र तानाशाहीलाई भइरहेको बताए ।