अमेरिकाको प्रविधि कम्पनीहरुमा कर्मचारी कटौतीको सिलसिला जारि
काठमाडौं । विश्वभरका प्रविधि कम्पनीहरुमा कर्मचारी कटौतीको सिलसिला जारी छ । मेटा, अमेजन, एचपी तथा ट्वीटर जस्ता दिग्गज कम्पनीहरुले पनि ठूलो संख्यामा कर्मचारीहरु हटाइरहेका छन् ।
एक तथ्यांक अनुसार अहिलेसम्म विश्वका कम्तिमा ८ सय ५३ वटा प्रविधि कम्पनीहरुले करीब १ लाख ३७ हजार ४९२ जना कर्मचारीहरु कटौती गरिसकेका छन् । साथै उत्तरी देशहरुमा आर्थिक मन्दीको आशंका पनि गरिएको छ । विश्व आर्थिक मन्दीको त्रासका बीच प्रविधि जगतका धेरै कम्पनीहरुले अहिले पनि कर्मचारी कटौतीलाई जारी राखेका छन् । क्लाउडमा आधारित डाटाबेस लेअफ डट एफवाईको तथ्यांक अनुसार कोभिड १९ महामारीको सुरुवातपछि अहिलेसम्म १ हजार ३ सय ८८ प्रविधि कम्पनीहरुले २ लाख ३३ हजार ४८३ कर्मचारीलाई जागिरबाट निकालिसकेका छन् । यो तथ्यांक अनुसार सन् २०२२ प्रविधि क्षेत्रका लागि सबैभन्दा खराव वर्ष रह्यो । यो वर्षको नोभेम्बर सम्म अमेरिकी प्रविधि क्षेत्रका मेटा, ट्वीटर, सेल्सफोर्स, नेटफ्लिक्स, सिस्को तथा रोकूजस्ता कम्पनीहरुले गरी ७३ हजार भन्दा धेरै कर्मचारीहरुलाइ बर्खास्त गरिसकेका छन् । क्रन्चबेसका अनुसार रोबिनहुड, ग्लेसिएर तथा बेटर जस्ता कम्पनीहरुले पनि उल्लेख्य संख्यामा कर्मचारी कटौति गरेका छन् ।
अमेजनमा जारी रहनेछ कटौतीको सिलसिला
इ कमर्स कम्पनी अमेजन तथा कम्प्युटर निर्माता कम्पनी एचपी जस्ता कम्पनीले आगामी दिनमा थप क्रमशः १० हजार तथा ६हजार कर्मचारी कटौतीको योजना बनाएका छन् । अमेजनका सिइओ एन्डी जेसीले सन् २०२३ को सुरुवातमा कम्पनीका धेरै कर्मचारीको कटौती हुने चेतावनी दिइसकेका छन् ।
ठूलो परिमाणमा कर्मचारीको कटौतीले अमेजन कम्पनीका विभिन्न महाशाखाहरुको कामलाई नै प्रभावित गरेको छ । विशेष गरी एलेक्सा भर्चुअल एसिस्टेन्ट व्यवसायले यो वर्ष १० अर्ब डलर घाटा व्यहोर्ने निश्चित भएको छ ।
उता गुगलको मातृ कम्पनी अल्फाबेटले राम्रो कार्यसम्पादन नभएका थप १० हजार कर्मचारीलाई हटाउने योजना बनाएको छ, जुन उसको कूल जनशक्तिको ६प्रतिशत हो । द इन्फर्मेसनको एक रिपोर्ट अनुसार कम्पनीको नयाँ सूचि तथा प्रदर्शन सुधार योजना अन्तरगत १० हजार घटाउने योजना गुगलको छ ।
आर्थिक मन्दीको त्रासले विश्वभरका प्रविधि कम्पनीहरु त्रसित भएका छन् । पहिले कोरोना लकडाउन तथा वर्क फ्रम होमको कारणले गर्दा पर्सनल कम्प्युटर तथा ल्यापटपको बिक्रिमा जबरजस्त उछाल देखिएको भएपनि अहिले त्यो क्षेत्र सुस्ताइसकेको छ ।
हाल प्रविधि कम्पनीहरुमा धेरै कर्मचारीहरु कटौती गर्नुको एउटा मुख्य कारण भनेको कोरोनाकालमा अनलाइन बिजनेसको क्षेत्रमा धेरै कर्मचारी भर्ना गर्नु हो । लकडाउनमा अनलाइन कामका कारण कम्पनीहरुले आवश्यकता भन्दा धेरै कर्मचारी भर्ना गरे । तर अहिले जब बजारमा गिरावट आयो तब कम्पनीहरुले सन्तुलन कायम गर्नका लागि र बढ्दो आर्थिक मन्दीका बीच आफ्नो खर्च कम गर्नका लागि कम्पनीहरुले लगातार कर्मचारी कटौती गरिरहेका छन् । एजेन्सीको सहयोगमा