
अन्य पार्टीका नेताहरु धमाधम कांग्रेस प्रवेश
सर्लाही २ बैशाख । नेपाली कांग्रेस सर्लाहीमा प्रवेशको लहर चलेको छ । सुरेन्द्रप्रसाद सिंह नेतृत्वमा आएसँगै सर्लाही कांग्रेस आक्रामक रुपमा संगठन विस्तारमा अघि बढेको छ । सिंहको व्यक्तित्व र नीतिसँग प्रभावित हुँदै अन्य पार्टीका नेताहरु धमाधम कांग्रेस प्रवेश गर्न थालेका छन् ।
सभापति सिंहले पार्टी प्रवेशमा प्रतिपक्षी नेकपा एमालेलाई पनि उछिनेका छन् । पछिल्ला दिनमा एमाले अध्यक्ष केपी ओलीले देशव्यापी पार्टी प्रवेशको अभियान चलाएका थिए। त्यो अहिले सुस्ताएका बेला सर्लाही कांग्रेसमा सभापति सिंहको नेतृत्वमा पार्टी प्रवेश कार्यक्रम आक्रामक रुपमा अघि बढेको छ ।
यसले आगामी चुनावमा कांग्रेसलाई बलियो बनाउने त छ नै जिल्ला नै कांग्रेसमय बनाउने सिंहको योजनालाई पनि पूरा गर्नेछ । पार्टी प्रवेशको लहरअन्तर्गत केन्द्रीय, क्षेत्रीय र जिल्ला स्तरका नेताहरु कांग्रेसमा आइरहेका छन् । बुधबारमात्रै एमालेका मेयर उम्मेदवार कांग्रेसमा प्रवेश गरेका थिए ।
अन्य दलका पालिका तहका नेता कार्यकर्ता पनि कांग्रेसप्रति आकर्षित भइरहेका बेला आज बिहीबार मलंगवा वडा नम्बर ९ का वडाध्यक्ष दिप्लाल महतो सहित एक सय कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रमुख अतिथिसमेत रहेका सभापति सिंह, विशेष अतिथि जंगीलाल रायले वडाअध्यक्ष महतोसहित सयौलाई पार्टी प्रवेश गराएका छन्।
कांग्रेस प्रवेश गरेका दिपलाल स्वतन्त्र रुपमा निर्वाचित वडाध्यक्ष हुन् । उनीसँग प्रवेश गर्नेहरुमा एमाले, जसपा र लोसपाका नेता कार्यकर्ताहरु रहेका छन् ।नेपाल पानाबाट