अधिवेशन नजिकिँदै गर्दा महासंघका उपाध्यक्ष हेमराज ढकालको यस्तो छ तयारी

0
3

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न साधारण सभा तथा अधिवेशन नजिकिँदै गर्दा महासंघभित्र नेतृत्व चयनसम्बन्धी बहस क्रमशः चर्किन थालेको छ। औपचारिक घोषणा अझै नभए पनि महासंघका वर्तमान उपाध्यक्ष तथा प्रभावशाली व्यवसायिक नेतृत्वका रूपमा परिचित हेमराज ढकाल ले वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष पदसम्म पुग्ने आफ्नो तयारी र इच्छाशक्ति  भएको  स्पष्ट संकेत गरेका छन्।

ढकालले महासंघको २८ र २९ चैतमा हुने साधारण सभा तथा अधिवेशनलाई महत्वपूर्ण मोडको रूपमा चित्रण गर्दै यसअघि सम्पन्न हुनुपर्ने प्रदेश उद्योग वाणिज्य महासंघका निर्वाचनहरू निर्वाचन आयोगको आचारसंहिताका कारण प्रभावित भएको बताएका छन्। उनका अनुसार ती निर्वाचन सम्पन्न भएपछि मात्र महासंघको सचिवालय र कार्यसमितिले आवश्यक औपचारिक निर्णय गरेर नेतृत्व चयन प्रक्रियालाई अगाडि बढाउनेछ।

ढकालले महासंघको विधानमा भएको संशोधनले नेतृत्व चयन प्रक्रियालाई थप प्रतिस्पर्धात्मक र लोकतान्त्रिक बनाएको उल्लेख गरे। यसअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहे पनि अब वरिष्ठ उपाध्यक्ष पदमै चुनाव लड्नुपर्ने र त्यसपछि अध्यक्ष पदका लागि पनि प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान लागू भइसकेको उनले स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष कार्यसमितिका सदस्यहरूले चयन गर्ने व्यवस्था रहेको उल्लेख गर्दै ढकालले यो प्रक्रिया संस्थागत परिपक्वताको संकेत भएको बताए।

उनका अनुसार महासंघभित्र सहमति, संवाद र सामूहिक निर्णयको संस्कृति महत्वपूर्ण छ। “साथीहरूको अपेक्षा वरिष्ठ उपाध्यक्षमा जानु भन्ने छ। वातावरण कसरी बन्छ, साथीहरूसँग सल्लाह गरेर अगाडि बढ्ने हो,” भन्ने ढकालको भनाइले उनी एकल दाबीभन्दा पनि सहकार्य र समझदारीको राजनीतिमा विश्वास गर्ने नेता भएको संकेत गर्छ।

तीन वर्षको कार्यकाल र अनुभवलाई ढकालले आफ्नो नेतृत्व यात्राको बलियो आधार मानेका छन्। वस्तुगत संघतर्फबाट निर्वाचित उपाध्यक्षका रूपमा उनले १४२ वटा वस्तुगत संघसँग प्रत्यक्ष समन्वय गर्दै काम गरेको अनुभव सँगालेका छन्। विविध क्षेत्रका उद्योगी व्यवसायीका समस्या, सम्भावना र नीतिगत अवरोधहरूलाई नजिकबाट बुझ्ने अवसर यही भूमिकाबाट प्राप्त भएको उनको भनाइ छ।

यसअघिको कार्यकालमा कृषि उद्यम केन्द्रको नेतृत्व सम्हाल्नु ढकालको अर्को महत्वपूर्ण अनुभव हो। कृषि, उद्योग र बजारबीचको अन्तरसम्बन्धलाई बुझ्दै किसानदेखि उद्यमीसम्म जोड्ने प्रयासमा उनले भूमिका खेलेको दाबी गर्छन्। विशेष गरी कोभिड–१९ महामारीको कठिन समयमा स्वास्थ्य तथा सीप विकास समितिमा सक्रिय रहँदै अक्सिजन आपूर्ति, क्वारेन्टाइन व्यवस्थापन र औषधि वितरणमा निजी क्षेत्र र राज्य संयन्त्रबीच समन्वय गर्ने कामलाई उनले आफ्नो कार्यकालका उल्लेखनीय उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।

ढकालको नेतृत्व यात्रा केवल केन्द्रीय महासंघमै सीमित छैन। झापा उद्योग वाणिज्य संघ र चिया उत्पादक संघमा काम गरेको अनुभवले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म उद्योग–व्यवसायका वास्तविक समस्या बुझ्न आफू सक्षम भएको उनी बताउँछन्। पूर्वी नेपालको उद्योग, कृषि र चिया क्षेत्रको अनुभवले महासंघको नेतृत्व गर्दा क्षेत्रीय सन्तुलन र समावेशितालाई ध्यान दिन सहयोग पुग्ने उनको विश्वास छ।

महासंघभित्र आफू एउटै समूहको सदस्यका रूपमा सहकार्यको भावनासहित अगाडि बढ्ने ढकालको भनाइ छ। उनले महासंघलाई गुट–उपगुटको अखडाभन्दा पनि निजी क्षेत्रको साझा आवाज बनाउनु आवश्यक रहेको धारणा राख्दै आएका छन्। नेतृत्वको अन्तिम टुंगो व्यक्तिगत चाहनाभन्दा पनि साथीहरूको सल्लाह, सहमति र संस्थागत आवश्यकताले निर्धारण गर्ने उनको संकेत छ।

एफएनसीसीआई जस्तो देशको निजी क्षेत्रको छाता संगठनको नेतृत्वले नीति निर्माण, लगानी वातावरण, रोजगारी सिर्जना र आर्थिक स्थायित्वमा गहिरो प्रभाव पार्ने भएकाले नेतृत्व चयनलाई गम्भीर रूपमा हेरिनुपर्ने धारणा उद्योगी व्यवसायीहरूबीच व्यापक छ। यस्तो सन्दर्भमा ढकालले प्रस्तुत गरेको अनुभव, समन्वय क्षमता र सहकार्यको दृष्टिकोणले उनलाई सम्भावित अध्यक्षीय दाबेदारका रूपमा उभ्याएको देखिन्छ।

आगामी अधिवेशनले केवल नयाँ नेतृत्व चयन मात्र होइन, निजी क्षेत्रको भावी दिशा, सरकारसँगको सम्बन्ध र आर्थिक नीतिमा प्रभाव पार्ने रणनीति पनि तय गर्नेछ। यही पृष्ठभूमिमा हेमराज ढकालको नेतृत्व आकांक्षा व्यक्तिगत महत्वाकांक्षा मात्र नभई महासंघभित्र चलिरहेको पुस्तान्तरण, संस्थागत सुधार र सहमतिमूलक नेतृत्वको खोजीको प्रतीकका रूपमा हेरिन थालेको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here