
२०औं फेवा नववर्ष महोत्सव- २०८२ को आयोजना गरिने
२२ चैत, काठमाडौं । पर्यटकिय नगर पोखरामा “२०औं फेवा नववर्ष महोत्सव २०८२” आयोजना गरिने भएको छ। होटल संघ पोखरा , नेपालको आयोजनामा यही चैत ३० गते देखि आगामी २०८२ वैशाख १ गते नयाँ वर्षको दिनसम्म फेवा किनारको करिब ३ किलोमिटर क्षेत्रको लेकसाइड सडकमा यो महोत्सव संचालन हुने शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
२०औं फेवा नववर्ष महोत्सव – २०८२ को संयोजकमा होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी रहेका छन् । पर्यटन , संस्कृति र खानालाई महोत्सवका मुख्य आकर्षणको रूपमा राखिएको छ। नेपाली नयाँ बर्षलाई उल्लासमय रुपमा मनाउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्रायले सास्कृतिक झाँकीसहित महोत्सवको आरम्भ गरिने आयोजकले जानकारी दिएका छन् ।
होटल संघ पोखराका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खाना तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित यो महोत्सवको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा बताए । अहिले महोत्सवको तयारी अगाडि बढाइएको र निःशुल्क प्रवेशको व्यवस्था गरिने उनले जानकारी दिए।
महोत्सवका अवसरमा पोखरा आउने पाहुनाका लागि संघ अन्तर्गतका होटलमा होटलहरुको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने छ। अन्य पर्यटकीय प्रतिष्ठान र व्यवसायीले पनि सक्दो छुट तथा सहुलियत प्रदान गर्नेछन्। नेपाली संस्कृतिको जगेना गर्दै पोखराको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटकहरुको बसाई अवधि लम्ब्याई आर्थिक चलायमानमा वृद्धि गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको कार्यक्रममा जानकारी दिइयो।
महोत्सवको प्रचारप्रसारका लागि संघले नेपाल पर्यटन बोर्डको सहयोगमा पूर्वी नेपालका प्रमुख शहरहरुमा हालै “जाउँ है पोखरा” अभियान संचालन गरी त्यस क्षेत्रका वासिन्दालाई फेवा महोत्सवमा सहभागीताका लागि आमन्त्रण गरिएको जानकारी दिएको छ । संघले धुमधाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखरा जस्ता प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ । सन् २०२५ लाई पोखरा महानगरपालिकाद्वारा पोखरा भ्रमण वर्ष घोषणा गरीए पश्चात आयोजना गर्न लागिएको यस वृहत महोत्सवले भ्रमणवर्षको लक्ष्यलाई पुरा गर्न सघाउ पुऱ्याउने आयोजकको विश्वास रहेको छ ।
महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न २१ भन्दा बढी समिति गठन गरी एरिया संयोजकहरु समेत तोकिएको संघले जनाएको छ ।
महोत्सवमा प्रदेश स्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सास्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, पर्यटक दौड प्रतियोगिता, व्याडमिन्टन कप, स्थानिय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषी एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यकम महोत्सवका आकर्षणहरु रहनेछन।
महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजकमा बरुण वेभरेज लि. को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केबलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि टोकला चिया रहेका छन् भने इन्सुरेन्स पार्टनरमा प्रभु इन्सुरेन्स कम्पनी र प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश, पोखरा महानगरपालिका रहनेछन् । होटल संघ नेपाल, पोखरा पर्यटन परिषद, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय एवम् विभिन्न व्यावसायिक प्रतिष्ठानहरुले सहयोग गर्ने विश्वास गरिएको छ।
पत्रकार सम्मेलनमा होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले यस्ता नयाँ किसिमका प्रवर्द्धनका कार्यक्रमले आन्तरिक पर्यटनका साथै विदेशी पर्यटखरु, विशेष गरि भारतीय पर्यटकको आगमनमा वृद्धि हुने बताए । अहिलेको आन्दोलन र प्रदर्शनी तथा बढेको प्रदुषणको कारण पर्यटनमा नकारात्मक असर गर्ने हुनाले सरकारले समयमै ध्यान दिनुपर्ने र पर्यटकको सुरक्षासम्बन्धि सरकारले आश्वस्त पार्न सक्नुपर्नेमा अध्यक्ष शाहले जोड दिए।