सुदन किराँतिको अभिव्यक्तिप्रति पूण्यप्रसाद ढकालको कडा आपत्ति
१३ पुष,काठमाडौँ । नेकपा एमालेका महासचिव पदमा झिनो मतान्तरले पराजित नेता सुरेन्द्र पाण्डेलाई पार्टीभित्र विद्रोह गरी बाहिर आउन प्रेरित गर्ने आशयको अभिव्यक्तिप्रति एमाले नेता तथा पेशागत महासंघ नेपालका अध्यक्ष पूण्यप्रसाद ढकालले कडा आपत्ति जनाएका छन् । सुदन किराँतिको उक्त भनाइप्रति असहमति जनाउँदै ढकालले त्यसलाई गैरजिम्मेवार र हास्यास्पद टिप्पणीको संज्ञा दिएका हुन् ।
ढकालका अनुसार सुरेन्द्र पाण्डे पार्टीका होनहार, बौद्धिक र सैद्धान्तिक रूपमा परिपक्व नेता हुन् भन्ने कुरा मन्त्रीस्तरको जिम्मेवारी सम्हालेका किराँतलाई राम्रोसँग थाहा हुनुपर्ने हो । पार्टीप्रति निष्ठा, आदर्श र सिद्धान्तमा सधैं अडिग रहने पाण्डे जस्तो नेतामाथि रिस, द्वेष वा ईर्ष्याबाट प्रेरित टिप्पणी आउनु आफैंमा दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।
एमाले निर्माणमा पाण्डेको योगदान कार्यकर्तामाझ घामजत्तिकै छर्लङ्ग रहेको उल्लेख गर्दै ढकालले प्रतिस्पर्धामा जित–हार हुनु स्वाभाविक राजनीतिक प्रक्रिया भएको बताए । निर्वाचनमा पराजित हुँदैमा पार्टी छोड्ने, पलायन हुने वा आत्मसमर्पण गर्ने स्वभाव सुरेन्द्र पाण्डे जस्तो खारिएको नेतासँग मेल नखाने उनको ठम्याइ छ ।
ढकालले सुदन किराँतलाई आफ्नै राजनीतिक बाटो रोज्ने अधिकार रहेको स्वीकार गर्दै नयाँ पार्टी बनाउने हो भने त्यसमा सद्भावना रहने पनि स्पष्ट पारे । तर अर्को पार्टीका नेताको मन लोभ्याएर आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने सोच दिवास्वप्न मात्र हुने चेतावनीसमेत उनले दिएका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भर्खरै सम्पन्न भएकाले त्यहाँ देखिएका सबल पक्ष र कमजोरीहरूको समीक्षा पार्टीभित्रै हुने ढकालको भनाइ छ । कार्यकर्ताले ठिक र बेठिक छुट्याउन सक्ने क्षमता राख्ने उल्लेख गर्दै उनले एमाले जनताको मन र मस्तिष्कमा सधैं जीवित रहने दाबी गरे ।
उनका अनुसार एमालेभित्र सबै नेता एउटै चरित्र र कार्यशैलीका हुँदैनन् । तथापि पार्टीलाई अझ उन्नत, व्यवस्थित र जनमुखी बनाउने अभियानमा आफूहरू निरन्तर लागिरहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
सुरेन्द्र पाण्डेको योगदान स्मरण गर्दै ढकालले उनलाई सफल पूर्व अर्थमन्त्री, राष्ट्रिय सभाका प्रमुख सचेतक, संसदीय दलका उपनेता, संविधान लेखन मस्यौदा समितिका मस्यौदाकार, विद्यार्थी र युवा संगठनदेखि कर्णाली, कोशी, उपत्यका, बागमती र सुदूरपश्चिमसम्म जिम्मेवारी सम्हालेका अनुभवी नेता भएको बताए । पछिल्लो समय विश्वव्यापी रूपमा चर्चामा आएको डाटा पुँजीवादका विषयमा नेपालकै चर्चित विज्ञका रूपमा पाण्डे स्थापित भएको उनले उल्लेख गरे ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.