
सरकारले राजनीतिक प्रतिशोध साँध्न खोज्यो: राजेन्द्र लिङ्देन
१७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले राजनीतिक प्रतिसोध साँध्न खोजेको बताएका छन् । शुक्रबार नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापन जनआन्दोलन’ को सभामंचमा नै अश्रुग्यास प्रहार गरेर प्रदर्शनी अनियंत्रित बनाएको तथा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई पक्राउ गरेपछि प्रहरी हिरासतमा उनिहरुलाई अपराधी जस्तै व्यवहार गरिएकोमा अध्यक्ष लिङ्देनले आपत्ति जनाएका छन् ।
लिङ्देनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई हिजो प्रहरी परिसर टेकुको हिरासतमा भेटेका थिए। उनी प्रहरीको व्यवहारमा सन्तुष्ट हुन सकेनन् । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री शरदराज पाठक, कोषाध्यक्ष निलकण्ठ काफ्लेलगायतको टोली लिएर लिङदेन प्रहरी परिसर टेकुमा पुगेका थिए । पार्टीको महत्वपूर्ण वैठक अगाडि उनीहरु नेताद्वय भेट्न पुगेका हुन् ।
प्रहरीले राप्रपा अध्यक्ष नेताहरुलाई बसेर भेट्ने व्यवस्था समेत मिलाएन । अध्यक्ष लिङदेन र नेताहरुले उभिएरै कुराकानी गरेका थिए । लकअपभित्र बारको वारपार मिश्र र राणासँग एकैपटक कुराकानी भएको भेटमा सहभागी एक नेताले बताए । सो क्रममा प्रहरीका एसएसपी नै छेउमा उभिएर कुरा सुनेको उनको भनाइ छ । यसमा अध्यक्ष लिङदेन असन्तुष्ट बनेका थिए ।
‘हाम्रा नेताहरुले कुनै पनि अपराधिक कार्य गरेका होइनन्, उनीहरुलाई खुंखार अपराधिझैं व्यवहार गर्नु भएन,’ उनले भने, ‘पार्टीको उच्च नेतृत्व आउँदाखेरि गरिएको यो व्यवहारले हामीप्रति राज्यको दुर्भावना र प्रतिसोधपूर्ण व्यवहार झल्काएको छ ।’
नेताद्वयले भने खासै गुनासो गरेनन् । वरिष्ठ उपाध्यक्ष मिस्ले राति लाइन लागेर सुतिएको हाँस्दै बताएका थिए । मिश्रले आन्दोलनका क्रममा भिडलाई उक्साएको भन्ने आरोपबारे पनि कुराकानी भएको थियो । उनले भने, ‘सरकारले छतछतबाट स्टेजमा आक्रमण गरेर शान्तिपूर्ण सभा विथोलेपिछ साथीहरुलाई एकत्रित गर्ने क्रममा पर नजानुस, अघि बढ्नुस भनेको हो । आन्दोलनकारीको नेताले अगाडि बढ्नुस भन्दा के आश्चर्यको कुरा भयो ? तर, हिंसा र तोडफोडलाई बढावा दिने काम हामीबाट कतै पनि भएको छैन ।’
अध्यक्ष लिङदेनले सरकारको राजनीतिक प्रतिसोध विरुद्ध पार्टीको वैठकले कडा निर्णय लिने पनि उनले नेताद्वयलाई जानकारी गराएका थिए । त्यही बमोजिम हिजो राप्रपाले नेताहरुलाई रिहा गर्न २४ घन्टाको अल्टिमेटम दिएको छ । २४ घन्टाभित्र रिहा नगरिएको खण्डमा देशव्यापी आन्दोलन गर्ने राप्रपाले निर्णय गरेको थियो ।
त्यस्तै, राप्रपाको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष लिङ्देनले पूर्वराजालाई जबरजस्ती विवादमा ल्याउने र राजनीतिमा तान्ने कार्य भएको बताए । पूर्वराजालाई विवादमा ल्याउने कार्यको पार्टीले निन्दा गर्ने उनको भनाइ छ ।