
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण
१३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। मंगलबार ( १२ चैत ) साँझ प्राधिकरणमा पुगेर पदभार ग्रहण गरेपछी शाक्यले आफुले न्याय पाएको बताए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
प्राधिकरणमा पुग्दा कर्मचारीहरुले शाक्यलाई स्वागत गरेका थिए ।
उनले यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने बताए । प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रुपमा समाधान गर्ने तथा लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको स्पष्ट पारे । उनले दुईहप्ताभित्र केहि सकारात्मक नजिता देखिने गरि काम गर्ने उल्लेख गरे । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका बिषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दावी समेत गरे ।
सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई बर्खास्त गरेर मंगलबार शाक्यलाई नियुक्ति गरिएको थियो । विवादमै नियुक्ति भए पनि उनले यसलाई चुनौती भन्दा पनि अवसरकारुपमा लिएका बताएका छन् । उनले त्यसबेला नियुक्ति पाउँदा गर्न नसकेका कामहरू अब पुरा गर्ने बताए । आफ्नो ३३ वर्षको अनुभवले राम्रो गर्ने दाबी गरे ।
‘यसअघि मेरो नियुक्ति भएको ६ महिनामै बाहिर पठाइएको थियो । लामो समयदेखि मैले न्यायको लागि अदालत धाइरहेको थिए । त्यहाँबाट लगभग न्याय पाइन भन्ने स्थितिमा पुगेको अवस्थामा सरकारले नियुक्ति दिएर न्याय दियो भन्ने लागेको छ’, उनले भने ।
विद्युतको क्षेत्रमा केही ठूला चुनौतीहरू रहेको उनले बताए । बाहिरबाट राम्रो देखिए पनि भित्र केही चुनौती रहेको पाएकोले यसलाई व्यक्तिले समाधान गर्ने भन्दा पनि टिम बनाएर काम गर्ने उनले बताए ।