विकास नायक अवार्डबाट १० जना सम्मानित

0
30

 

२२ पुस,काठमाडौं । विभिन्न १० क्षेत्रमा महत्वपूर्ण योगदान दिने १० जना विकास नायक सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास वहस तथा विकास नायक अवार्ड समारोहमा १० जना विकास नायक सम्मानित भएका हुन् । विकास नायकहरुलाई अर्थमन्त्री रामेश्वर खनालले अवार्ड तथा सम्मानपत्र प्रदान गरेका हुन् ।

राजनीतिक संस्कार, सुशासन र विकास क्षेत्रबाट ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उद्योग क्षेत्रबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, कृषि क्षेत्रबाट फस्र्ट च्वाइस फुड्स लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेल, ऊर्जा क्षेत्रबाट आरएम ग्रुपका अध्यक्ष कृष्ण आचार्य, पेशागत कर्मबाट देश तथा विदेशमा प्रतिष्ठा आर्जन गरी राष्ट्र निर्माणमा योगदान दिने धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा। रामकण्ठ माकजु श्रेष्ठ, सूचना प्रविधि क्षेत्रबाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल ‘विकास नायक २०८२’ बा सम्मानित भएका हुन् ।

यस्तै, सृजनशील र निष्ठापूर्ण व्यवसायतर्फ सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने, शिक्षा तथा स्वास्थ्य क्षेत्रबाट नेपाल विश्वविद्यालयका उपकुलपति प्रा।डा। अर्जुन कार्की तथा कला तथा मनोरञ्जन क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्त सम्मानित भएका हुन् ।

अर्थमन्त्री खनालले पछिल्लो समय उद्योगी व्यवसायीको मनोबल कमजोर भएको अवस्थामा विकास मिडियाले गरेको सम्मानले उत्प्रेरणा र थप काम गर्न उर्जा थप्ने धारणा राखे । उनका अनुसार देशमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि मनोबल उच्च बनाउन आवश्यक छ ।

कार्यक्रममा विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेलले चौतर्फी रुपमा निराशा फैलिरहेको बेला सञ्चारमाध्यमबाट हुन सक्ने सिर्जनशील र उत्प्रेरणामुलक कामले व्यक्तिलाई थप प्रोत्साहन गर्ने बताए । ‘विकास मिडिया रचनात्मक र सकारात्मक सन्देश प्रवाहमा सधैं प्रतिवद्ध छौं, व्यक्ति र व्यवसायीलाई थप उर्जा भर्नका लागि हामीले हाम्रो तर्फबाट हुने सक्ने कदम चालेका हौं,’ उनले भने ।

विकास नायक निर्णायक समितिका संयोजक कृष्णहरि बास्कोटाले आआफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेका व्यक्तिहरुलाई निष्पक्ष ढंगबाट छनोट गरेर सम्मानित गरेको बताए । उनका अनुसार १० वटा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको मूल्याङ्कनका आधारमा ‘विकास नायक, २०८२’का लागि छनोट गरिएको हो ।

सञ्चार क्षेत्रको उत्कृष्ट कदम अर्थमन्त्री खनाल

कार्यक्रममा विकास नायकलाई सम्मान प्रदान गर्दै अर्थमन्त्री रामेश्वर खनालले देश विकासमा विकास नायकले पुर्याएको योगदान बलियो रहेको बताउँदै विकास मिडियाले राम्रो काम गर्नेलाई पहिचान गर्ने काम गरेर सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

अर्थमन्त्री खनालले पछिल्लो समय युवाहरूमा असन्तुष्टि उत्पन्न भइरहेको बताउँदै सुशासन दिन सक्ने, सीमित स्रोत र सम्पत्तिको अधिकतम उपयोग गर्न सक्ने नेतृत्व आजको रहेको बताए । उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा नागरिकहरूले आफ्नो संवैधानिक अधिकार प्रयोग गरी असल सरकार निर्माणका लागि मत व्यक्त गर्न आग्रह गरे ।

यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। प्रकाशकुमार श्रेष्ठ विकास बहस बोल्दै नेपालमा अपेक्षा अनुसार विकास नहुँदा निराशा सिर्जना भएको बताए । ‘हामीसँग नीतिगत रूपमा हेर्दा प्रायः सबै कुरा पर्फेक्ट छन्, तर समस्या कार्यान्वयनमा देखिएको छ । कार्यान्वयन कसले गर्ने भन्ने विषयमै अन्योलता छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जाको माग न्यून रहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे । उनका अनुसार सुरक्षाको प्रत्याभूति नहुनु नै कर्जाको माग नबढ्नुको प्रमुख कारण बनेको छ ।

‘आधार दरमै कर्जा उपलब्ध गराउँदा र न्यून प्रिमियम दरमा समेत कर्जा प्रस्ताव गर्दा पनि कर्जाको माग नहुनुको कारण के हो भन्ने विषय बुझ्न गाह्रो भइरहेको छ,’ उनले भने । डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकरमाथि कुटपिटजस्ता घटनामा राष्ट्र बैंक गम्भीर रूपमा सक्रिय रहेको बताए ।

विकास बहसमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी पर्याप्त भए पनि निजी क्षेत्रको मनोबल खस्किँदा लगानीको वातावरण अघि बढ्न नसकेको बताए । उनले पछिल्लो समय लगानीको धारणा र व्यवहारमा परिवर्तन आएको उल्लेख गरे ।

बहसमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुजित शाक्यले बैंक तथा वित्तीय संस्थाको लगानीबिना कुनै पनि उद्योग–व्यवसाय अघि बढ्न नसक्ने बताए । उनले बैंकिङ क्षेत्रले उद्यमशीलता विकासमा खेलेको भूमिकाको चर्चा गरे ।

महिला उद्यमी तथा गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणाले नेपालमा कुनै पनि उद्योग सुरु गर्नु अघि गम्भीर तयारी आवश्यक पर्ने बताइन् । विकास बहस कार्यक्रममा बोल्दै उनले उद्योग स्थापना मात्र होइन, त्यसको निरन्तरतामा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । उनका अनुसार नीतिगत असहजता र कठिन वित्तीय अवस्थाले उद्योग सञ्चालनलाई झनै चुनौतीपूर्ण बनाएको छ ।

आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले समयानुकूल शिक्षा नीति लागू गर्न नसक्दा विद्यार्थीहरू अझै विदेश पलायन हुने खतरा रहेको बताए । उनका अनुसार आजभन्दा ३० वर्षअघिको शिक्षा नीतिलाई अहिले पनि लागू गर्ने हो भने देशभित्र कलेज र विद्यालयमा विद्यार्थी टिकाइराख्न गाह्रो हुन्छ । बुढाथोकीले समय सापेक्ष शिक्षा नीति अवलम्बन गर्दा कलेज र विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने बताए । ‘हामीले समयअनुसार शिक्षा नीतिलाई अगाडि बढाएकै कारण कलेजमा विद्यार्थीको भीड देखिएको हो,’ उनले भने ।

कार्यक्रममा अर्थविद् डा। विश्वास गौचन र नेपाल विश्वविद्यालयका रजिष्ट्रार डा। सूर्यराज आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुतीकरण दिँदै डा। आचार्यले छोटो समयमा आवश्यक सबै पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले ठूलो लगानी अपरिहार्य रहेको बताए । डा। आचार्यका अनुसार पूर्वाधारमा गरिएको लगानीले अर्थतन्त्रमा बहुगुणात्मक प्रभाव पार्छ । ‘पूर्वाधारमा १ अर्ब रुपैयाँ खर्च गर्दा त्यसले ४ देखि ५ अर्ब रुपैयाँसम्म जीडीपीमा योगदान पुर्याउँछ,’ उनले भने ।

डा। गौचनले पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक देखिए पनि अपेक्षित रूपमा लगानी वृद्धि हुन नसकेको बताएका छन् । उनका अनुसार हाल करिब साढे २१ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको भए पनि निजी क्षेत्रको लगानीमा उत्साह आउन सकेको छैन । हाइड्रोपावर र पर्यटन क्षेत्रको प्रभावकारी विकास गर्न सके मात्र पनि देश समृद्ध बन्न सक्ने उनको धारणा छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here