
वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
४ असार, काठमाडौं । वरिष्ठ साहित्यकार तथा चर्चित गीतकार वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न भएको छ। बुधबार राजधानी काठमाडौँमा आयोजित विशेष साहित्यिक समारोहमा उक्त कृति सार्वजनिक गरिएको हो। करिब दुई दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका चौधरीले यसपटक आख्यानमार्फत नयाँ विधामा हात हालेका छन्। यस कृतिले उनका पाठकमाझ साहित्यिक यात्रा अझ फराकिलो बनाएको छ।
उपन्यास ‘देवयानी’ को कथा संरचना विशेषगरी सम्बन्ध, मनोविज्ञान र सामाजिक द्वन्द्वमाथि आधारित रहेको बताइएको छ। कृतिमा फरक अवधारणा, मूल्य र परिवेशमा हुर्किएका दुई नारी पात्रहरूको मनोविज्ञानलाई लेखकले गहिरो विश्लेषणसहित प्रस्तुत गरेका छन्। ती दुई पात्रको चेतना, सोच र संवेदनशीलताको अन्तर्यको तुलनात्मक चित्रण गर्दै लेखकले पुरुष पात्रको मानसिक यात्रा र त्यसले व्यहोर्नुपरेका द्विविधा, अन्योल र अन्तर्द्वन्द्वलाई उजागर गर्न खोजेका छन्। यही द्वन्द्वात्मक परिवेशमा उपन्यासको कथा अघि बढ्छ र सम्बन्धहरूमा आउने जटिलता, मानव मनको कमजोर र बलिया पक्षहरूलाई लेखकले कलात्मक ढंगले उकेरेका छन्।
‘देवयानी’ उपन्यास केवल प्रेम या सम्बन्धको सरल प्रस्तुति नभई, त्यसपछाडि लुकेका सामाजिक संरचना, संस्कार र बदलिँदो जीवनशैलीबीच मान्छेले कसरी आफ्नो निर्णय लिन्छ भन्ने प्रश्नको खोज हो। नारी पात्रहरूको आन्तरिक द्वन्द्व र तिनले जीवनमा लिएका निर्णयको प्रभाव कसरी पुरुष चेतनामा प्रतिबिम्बित हुन्छ भन्ने कुरा यो आख्यानको मूल स्वर हो। वसन्त चौधरीको गीत, कविता र निबन्ध लेखनमा देखिने भावुकता र सूक्ष्म दृष्टिकोण यस कृतिमा पनि उपस्थित छ।
वसन्त चौधरी विगत केही दशकदेखि नेपाली साहित्य र संगीतको क्षेत्रमा सक्रिय नाम हुन्। उनका गीतहरूले श्रोतामाझ विशेष स्थान बनाएका छन् भने उनका निबन्ध र कविताले समाज, जीवन र प्रेमका विषयमा गहिरो प्रश्न उठाएका छन्। ‘देवयानी’ मा उनले आफ्नो अनुभूति र अनुभवनको धरातललाई आख्यानमार्फत अझ गहिरो रूप दिएका छन्।
यस उपन्यासको विमोचनसँगै चौधरीको साहित्यिक यात्रा नयाँ अध्यायमा प्रवेश गरेको छ। कृतिले पाठकमाझ विश्लेषण, बहस र चिन्तनको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। ‘देवयानी’ एक समयानुकूल कृति भएको भन्दै साहित्यिक वृत्तमा चौधरीको प्रयासको प्रशंसा गरिएको छ। उपन्यास नेपाली आख्यानको समकालीन धारमा मूल्यवान योगदान दिने विश्वास गरिएको छ।