११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा अघि बढाएको बताउनु भएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले यस्तो बताउनु भएको हो । ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताउनु भयो ।
वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिँडेको जनताको सरकार भएको उल्लेख गर्दै प्रधानमन्त्रीले देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको यस सरकारले कसैलाई पनि एक्लो र असहाय हुन नदिने स्पष्ट पार्नु भयो । उहाँले कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रहसमेत गर्नु भयो ।
नेपालको संविधानमा सामाजिक सुरक्षालाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिएको जनाउँदै प्रधानमन्त्री ओलीले संविधानको मर्मअनुसार नै सामाजिक सुरक्षासम्बन्धी अवधारणालाई व्यापक बनाउँदै लगिएको स्पष्ट पार्नु भयो ।
The post वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर अवधारणालाई अगाडि बढाउन प्रतिबद्धः प्रधानमन्त्री ओली first appeared on Khabar Breaking.