
राष्ट्रिय मुक्ति पार्टीले सार्वजनिक गर्यो संगठन विस्तारको कार्यक्रम
१५ फागुन, काठमाडौं। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले उनको पार्टीको ‘राष्ट्रिय मुक्ति क्रान्ति’ ले ‘नश्लिय शासन’बाट मुक्त गराउन खोजेको तथा त्यसको लागि वहुलराष्ट्र राज्यको अवधारणा बमोजिम शासन व्यवस्था र संविधान बनाउनु पर्ने बताएका छन।
बिहीवार राजधानीमा उक्त पार्टीको केन्द्रिय कार्यसमितिको बैठक पछाडीको पत्रकार सम्मेलनमा पार्टीको धारणा सार्बजनिक गर्नुका साथै आगामी दिनमा गरिने कार्यक्रमहरु सार्बजनिक गर्ने क्रममा उनले त्यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष महतोले अहिलेको विश्व परिस्थितीको सामना गर्न नेपाल तयार नरहेको र यी ‘नश्लवादी शासक’हरुले यो ३५ वर्ष (बहुदल पश्चात) देशलाई कस्तो बनाए ? यी काँग्रेस, एमाले, माओवादी ले देश वेचे, देश लुटे, ब्रम्हलुट मच्चाए भन्दै अब सबैको साझा फुलवारी वनाउन वहुलराष्ट्र राज्य बनाउनु पर्छ,अरु बिकल्प नरहेको ठहर गरे।
आफ्नो आगामी कार्यक्रम सार्बजनिक गर्दै उनले आगामी २०८१ चैत १ गते देखि वैशाख १५ गतेसम्म संगठन विस्तार अभियान, प्रशिक्षण कार्यक्रम र अर्थ संकलन अभियान चलाउने, यस अभियान अन्तर्गत पार्टीलाई गाउँ गाउँसम्म पुर्याइने बताए ।
देशमा विद्यमान विभिन्न संघर्षहरु पाथिभरामा नो केबलकार, बोझेनी सांखुको सबस्टेशन विरुद्धको संघर्ष, उपत्यकामा गैरन्यायिक सडक विस्तार तथा खोलानदीको मापदण्ड विरुद्धको संघर्ष, स्वर्गद्वारी गुठीको संघर्ष, सहकारी पीडितहरुको संघर्ष, लघुवित्त पीडितहरुको संघर्ष, बिटौरी जग्गा सम्बन्धि देशभर रहेको समस्या विरुद्धको संघर्ष, दलित (शिल्पी) समुदायद्वारा जारी रहेको संघर्ष, कवाड व्यसायीहरुको संघर्ष, ढोरपाटन सिकार आरक्ष विरुद्धको संघर्ष, केन्द्र सरकार र प्रदेश सरकारहरुको वेथिती विरुद्धको संघर्ष लगायतका संघर्षहरु जारी राख्ने बताए।
सो पत्रकार सम्मेलनमा कौशल किशोर सिंह, संतोष मेहता, केशव झा, रमण पाण्डे, सि.एन.थारु, वुद्ध छिरिङ मोक्तान, रविन्द्र श्रेष्ठ, सुमन सायमी, कमला गुरुङ लगायतको पनि उपस्थिति थियो।