
राष्ट्रवादी शक्तिको सम्भावित उदय: तर किन एक ठाउँ आउन सक्दैनन्?
भक्त केसी,
राप्रपा नेपाल ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), , र अन्य राष्ट्रवादी धारमा अडिएको दलहरू – विशेषतः हिन्दूवादी, राजसंस्था समर्थक, र सनातन संस्कारको पक्षमा उभिएका शक्ति – आज पनि ठूलो जनभावनाको प्रतिनिधित्व गर्ने हैसियत राख्छन्।
नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक संरचना तीव्र रूपमा परिवर्तन हुँदै गएको छ। समाज बदलिँदै छ, युवा पुस्ता जागिरहेको छ, प्रविधि प्रयोग बढेको छ, वैदेशिक प्रभाव तीव्र छ — तर राजनीतिमा सोच्ने ढाँचा, नेतृत्व गर्ने शैली, र कार्यान्वयन गर्ने प्रवृत्ति भने उही पुरानै ढर्रामा अडिएको छ।
आज विचार मिल्ने, देशका लागि चिन्तित, न्यायप्रिय, दूरदृष्टिवाला व्यक्तिहरूको समेत राजनीति प्रतिको वितृष्णा बढेको देखिन्छ। उनीहरू ‘राजनीति हाम्रो कुरा होइन’ भन्दै पछि हट्छन्। तर प्रश्न उठ्छ: यदि राजनीति सबै कुरामा हावी छ भने, राजनीति छाडेर परिवर्तन कसरी सम्भव छ?
वैकल्पिक शक्तिको असफलता वा चुनौति
वैकल्पिक शक्ति बन्ने चाहना त धेरैले राख्छन्, तर त्यो चाहनालाई व्यवहारमा उतार्न सक्ने आँट, धैर्य, र सुसंगठित योजना कमैले देखाउँछन्। जसले प्रयास गरे पनि — चाहे रवी लामिछाने हुन् वा विवेकशील समूह — उनीहरू पनि परम्परागत राजनीतिक अभ्यासकै चक्रव्यूहमा अल्झिएको देखिन्छन्। वैकल्पिक भन्नाले केवल अनुहारको हेरफेर होइन; त्यो संरचना, विचार, संस्कार र प्रणालीको परिवर्तन हो।
राजनीति र सत्ता: सबै क्षेत्रमा हावी
नेपालमा राजनीति केवल संसदभित्र मात्र होइन, अदालत, विश्वविद्यालय, मन्दिर, संघ-संस्था, मिडिया, व्यवसाय — सबै क्षेत्रमा पसिसकेको छ। त्यसैले यो बुझ्न जरूरी छ कि राजनीति ‘नगर्ने’ होइन, सुधार्ने विषय हो।
एजेन्डा मिल्दोछ – तर मन नमिल्ने विडम्बना
राष्ट्र, धर्म, संस्कार, राष्ट्रियताको सवालमा एजेन्डा मिल्ने हुँदा–हुँदै पनि यी शक्ति किन एकीकृत हुन सक्दैनन्? यो बुझ्न गाह्रो भए पनि यसको कारणहरू यस्ता देखिन्छन्:
नेतृत्वको इगो र स्वार्थ – एक–अर्कालाई स्वीकार नगर्ने प्रवृत्ति, नेतृत्वको प्रतिस्पर्धा, र संस्थागत भन्दा व्यक्तिगत लाभप्रतिको मोह।
विश्वासको संकट – विगतका फुटहरू, एक–अर्कामाथि अविश्वास, र मतभिन्नता समाधान गर्न सक्ने संयन्त्रको अभाव।
एजेन्डाको अस्पष्टता – हिन्दु राष्ट्र चाहिन्छ भनेर मात्र पुग्दैन, त्यसलाई व्यवहारमा उतार्ने स्पष्ट कार्ययोजना, नीति, र समावेशी सोच आवश्यक छ।
जनता चाहन्छन् – तर नेतृत्वमा एकता छैन
नेपालका धेरै जनताले वैकल्पिक राष्ट्रवादी शक्ति चाहेका छन्। धर्म, संस्कृति, र परम्पराको संरक्षण, राजनीतिक स्थायित्व र स्पष्ट पहिचान खोजिरहेका छन्। तर नेतृत्व तहमा एकता नहुँदा त्यो चाहना दिशाविहीन भएको छ।
के गर्नु जरुरी छ?
विचार मिल्ने, स्वच्छ छवि भएका व्यक्तिहरूले राजनीति छाड्नु हुँदैन। वैकल्पिक शक्ति साँचिकै संस्थागत र दीर्घकालीन योजना सहित अगाडि बढ्नुपर्छ। ‘सत्ता’ प्रयोगको संस्कृति होइन, ‘सेवा’ को संस्कार स्थापित गर्नुपर्छ।