
राजावादी शक्तिहरू एकै मञ्चमा, राप्रपा नेपालको सभामा लिङ्देन पनि सहभागी
१५ बैशाख, काठमाडौं । मुलुकमा राजसंस्था पुनःस्थापनाको बहस चुलिँदै गएको बेला राजावादी धारका शीर्ष नेताहरू एकै मञ्चमा देखिएका छन्। कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले आयोजना गरेको सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवल शमशेर राणा, साथै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट सहभागी हुनु भएको थियो ।
यो उपस्थितिलाई धेरैले राजसंस्था समर्थक शक्तिहरूबीचको एकता प्रयासका रूपमा हेरेका छन्। राजनीतिक रूपमा विभाजित देखिँदै आएका राप्रपाका दुई धारहरू — कमल थापा र लिङ्देन पक्ष — एउटै मञ्चमा देखिनु निर्णायक र सन्देशमूलक कदम मानिएको छ। सार्वजनिक असन्तुष्टि र परिवर्तनको बहस चर्किएको वर्तमान अवस्थामा यो ‘राजसंस्थामै विकल्प’ खोज्नेलाई सशक्त संकेतको रूपमा समेत लिइएको छ।