
रवीन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गर्यो , सच्याओस : सांसद मनिष झा
१६ वैशाख , काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि दुर्व्यवहार गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस विषयमा असन्तुष्टि जनाएका हुन् ।
उनले रास्वपा सभापति रवि लमिछानेमाथि पनि राज्यले प्रतिशोध साधेको आरोप लगाए । त्यो कुरा प्रधानमन्त्रीले नै वैशाख १४ गते एक कार्यक्रममा बोल्दै त्यो कुरा स्वीकार गरेको उनले टिप्पणी गरे ।
प्रतिनिधि सभाको बैठकमा मंगलबार बोल्दै सांसद झाले भने, ‘वैशाख १४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीज्यूले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो। एक झापु लगाएर ठिक पारेर हिरासतमा पुर्याए। उहाँप्रति आभार छ, स्वीकार्नुभयो राजनीतिक प्रतिशोध नै रहेछ। अब आइन्दा यो विषयमा मन्त्री र महामन्त्रीहरू वादविवाद गर्न नआउनुहोला। किनकि प्रधानमन्त्रीले स्वीकारिसक्नुभयो।’
उनले राप्रपाका सहअध्यक्ष रवीन्द्र मिश्रले फरक विचार राखेकै आधारमा उनिप्रति राज्यले गरिरहेको दुर्व्यवहार ठिक नभएको र त्यसमा आफ्नो घोर विमति रहेको बताए। राज्यले यस्तो व्यवहार सच्चाउनुपर्ने उनले माग गरे।
उनले सरकारले १० महिनासम्म सरकारमा रहेकाहरूको सम्पत्ति विवरण सार्वजनिक नगरेकोप्रति पनि आपत्ति जनाए।