रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति, रास्वपामा ७ बुँदे सम्झौता
१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमतिमा पुगेका छन्।
आइतबार दुवै नेताबीच सात बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार रास्वपाको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्दै आगामी निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने निर्णय गरिएको छ।
सम्झौतामा पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेले सम्हाल्ने र निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिने उल्लेख छ। बालेन शाह पार्टी राजनीतिमा सक्रिय हुने र आवश्यक परे काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिन सक्ने संकेत पनि सम्झौतामा गरिएको छ।
दुवै नेताले भ्रष्टाचार र कुशासनविरुद्धको जनआन्दोलनलाई अपनत्व लिने, नीतिगत तथा संरचनागत सुधार गर्ने र आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्यमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्झौताअनुसार समानुपातिक उम्मेदवारहरू रास्वपामार्फत नै प्रतिस्पर्धा गर्ने र पार्टीसम्बन्धी कागजातहरू निर्वाचन आयोगमा छिट्टै अद्यावधिक गरिने जनाइएको छ।
तर, अन्य वैकल्पिक राजनीतिक शक्तिहरूसँगको एकता र उम्मेदवार व्यवस्थापनसम्बन्धी विस्तृत विषय भने सम्झौतामा खुलाइएको छैन।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.