३० साउन, वीरगन्ज । मुलुकमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सीके राउतले बताउनु भएको छ ।
वीरगन्जमा बुधबार जनमत पार्टी पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष राउतले कांग्रेस र एमालेले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘कांग्रेस र एमाले मुलुकमा दुई दलीय व्यवस्था ल्याउने षड्यन्त्रमा अहिले लागेका छन्। साना दलहरूलाई नामेट पारेर आफ्नोमात्रै राजपाट चलाउने साजिस गरिरहेका छन्।’
अध्यक्ष राउतले संघीयता र गणतन्त्र खारेज गर्ने षड्यन्त्र पनि उनीहरूले गरिरहेको आरोप लगाउनु भयो । उहाँ भन्नु भयो, ‘अहिले कांग्रेस र एमाले अचानक मिल्नुको कारण अरु केही होइन। दुई दलीय व्यवस्था ल्याउने अनि संघीयता र गणतन्त्र खारेज गरेर आफ्नो हालीमुहाली चलाउने, उनीहरू मिल्नुको कारण यतिमात्र हो।
त्यसैले जनता अहिले अझ धेरै सजग र सचेत बन्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिलेको संविधानबाट हामीले जे जति अधिकार पाएका छौं, त्यो जुनसुकै बेला पनि खोसिन सक्छ। त्यसैले जनता अझ धेरै सजग र सचेत अवस्थामा रहनुपर्छ।’ प्राप्त अधिकारको रक्षा र थप अधिकार प्राप्तिका लागि आन्दोलनको तयारीमा रहन पनि उहाँले कार्यकर्ताहरूलाई निर्देशन दिनु भयो ।
The post मुलुकमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छः सीके राउत first appeared on Khabar Breaking.