२७ साउन ,काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट मन्त्रालय स्रोतअनुसार भ्रमणका क्रममा विदेश सचिव मिस्रीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुनेछ । परराष्ट्र सचिव सेवा लम्सालसँग उहाँको द्विपक्षीय कुराकानी हुनेछ । मिश्री सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बन्नुभएको थियो। उहाँले यसअघि भुटानको भ्रमण गरिसक्नुभएको छ । विदेश सचिवमा बढुवा हुनुअघि मिस्री भारतको उप-राष्ट्रिय सुरक्षा सल्लाहकार हुनुहुन्थ्यो ।
विदेश सचिव मिस्रीले भारतका प्रधानमन्त्रीहरू इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रुपमा काम गरेको अनुभव छ । उहाँले सन् २०१९-२०२१ सम्म चीनका लागि भारतको राजदूतका रूपमा पनि काम गर्नुभएको थियो ।
The post भारतीय विदेश सचिव मिस्री आज नेपाल भ्रमणमा आउँदै first appeared on Khabar Breaking.