
बैंकहरुको ब्याजदर एकल अंकमा आउँदा त्यसको लाभ लिनुपर्छ : प्रधानमन्त्री ओली
४ फागुन ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला बैंकहरुको ब्याजदर एकल अंकमा आउँदा त्यसको लाभ लिने समय आएको बताएका छन् । त्यस्तै , अहिलेको सरकार लगानी बढाउनमा नै केन्द्रित भइरहेको प्रधानमन्त्री ओलीले दाबी गरे ।
आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदर घटाउने नीति ल्याएसँगै बैंकहरुको ब्याजदर एकल अंकमा झरिसकेको छ । अब उद्योग, व्यापार र स्टार्टअपहरूका लागि राम्रो अवसर छ ।’
प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको (आइटी) मार्फत आफ्ना लागि आफैं रोजगारी सिर्जना गर्न सकिने पनि बताए । बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘आइटी क्षेत्रमा जुन देशमा काम गर्ने हो त्यहाँ कम्पनी खोल्नु पर्छ । त्यसकारण आइटीको उत्पादन र व्यापार गर्न सक्ने स्तरमा नेपाली युवाहरू पनि गइसकेको हुनाले युवाले सस्तोमा केही रकम राखेर उनीहरूले कम्पनी खोल्न सक्छन् । त्यो कम्पनी मार्फत यही बसेर आइटीको काम विदेशमा पनि गर्न सकिन्छ । विदेशी मुद्रा पनि आर्जन गर्न सकिन्छ । आफ्ना लागि आफै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।’