

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नागरिकहरुको अर्थपूर्ण उपस्थिति
२५ फागुन , काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किदा पचासौं हजार नागरिकले न्यानो स्वागत गरेका छन् । पोखरास्थित पुरानो विमानस्थलबाट समिट एयरको १८ सिटे चार्टर्ड विमानमार्फत अपराह्न ४ बजे काठमाडौं ओर्लिएका पूर्वराजा शाहलाई उनका समर्थकहरुले भव्य स्वागत गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलि, काङ्ग्रेस सभापति शेर बहादुर देउवा र माओवादीका अध्यक्ष पुष्प कमल दाहाल लगायतले पूर्वराजा प्रति धम्कीपूर्ण भाषा प्रयोग गरिरँहदा राजावादी मात्रै नभएर स्वतन्त्र नागरिकहरुले ठुलो समर्थन व्यक्त गरेका छन् ।
अपराह्न ४ बजेतिर विमानस्थलमा ओर्लिएर पूर्वराजा शाह बाहिर निस्किएपछि प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । विमानस्थलको मुख्य गेटबाट अगाडि निस्किने वित्तिकै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका कमल थापा लगायतले उनलाई त्यहीँ भेटेर स्वागत गरेका थिए ।
त्यसबेला विमानस्थलदेखि सञ्चारग्रामसम्म हजारौं मानिसको भीड देखिएको थियो भने गौशाला, गुह्येश्वरीमा पनि छुट्टाछुट्टै समूह बसेको थियो । त्यहाँ ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहज्यूलाई स्वागत गर्दछौं’ लगायत लेखिएका ब्यानर समेत बोकेर राजसंस्थाका समर्थक बसेका थिए ।
फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसरमा पोखराबाट ‘अर्थपूर्ण’ भिडियो सन्देश जारी गरेर आइतबार काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले जुलुससहित निर्मल निवास पुर्याएका हुन् । ‘अब समय आयो – राष्ट्र जोगाउने हो, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन देशवासीलाई आह्वान गर्दछौं’, सन्देशमा राजाले भनेका थिए पछिल्लो समय राजसंस्थाको पक्षमा बढ्दै गएको माहोलले गणतन्त्रवादी नेताहरुलाई ‘नवीन समझदारी’ मा जानुपर्ने सन्देश दिएको छ।