
परिसंघले दियो हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई
६ बैशाख, काठमाडौं । नेपाल हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग परिसंघले बधाई तथा स्वागत गरेको छ ।
परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले परिसंघ सचिवालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यसहित कार्यसमिति सदस्यहरुलाई स्वागत गर्नु भएको थियो ।
सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले हस्तकला उद्योग हाम्रो मौलिक उद्योग भएकाले यस क्षेत्रलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनु भएको थियो । हस्तकला तुलनात्मक लाभको क्षेत्र भएकाले यसको प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनु भएको थियो ।
उहाँले परिसंघ एवं हस्तकला महासंघको संस्थागत उद्देश्य समग्र अर्थतन्त्रको विकास नै भएकाले यसका लागि सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भएको थियो ।
परिसंघले नेपाल सरकारलाई बुझाउने नीतिगत सुझाव अध्ययनमा आधारित हुने गरेको बताउँदै अध्यक्ष अग्रवालले अध्ययनमा आधारित भएर सुझाव दिदा सरकारले सुन्ने गरेको समेत बताउनु भएको थियो ।
हस्तकला महासंघका अध्यक्ष शाक्यले स्वदेशी वस्तुको उपयोग बढाउन परिसंघले गरेको पहलका लागि धन्यवाद व्यक्त गर्नु भएको थियो । साथै उहाँले स्वदेशी वस्तुहरुको खपत बढाउन थप पहल आवश्यक रहेको बताउनु भएको थियो ।