

परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
२६ जेठ, काठमाडौं । जातीय छुवाछूत र भेदभावको अन्त्यका लागि कानुनी मात्र होइन, सामाजिक रूपान्तरण आवश्यक रहेको भन्दै सरोकारवालाहरूले सबै क्षेत्रका व्यक्ति तथा संस्था एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्।
परियार सेवा समाजको ३०औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित चियापान तथा सम्मान समारोहसँगै सम्पन्न अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले संविधान र कानुनद्वारा निषेध गरिए तापनि व्यवहारमा अझै जातीय विभेद कायमै रहेको दुःखद यथार्थ औंल्याए।
कार्यक्रममा बोल्दै डा मित्र परियारले सामाजिक चेतना अझै पनि परिवर्तन हुन नसकेको बताउँदै “राजनीतिक दलहरू समाज परिवर्तन र अधिकारको स्थायित्वमा निर्णायक भूमिका खेल्न सक्छन्, तर त्यस्तो इच्छाशक्ति देखिएको छैन,” भने । उनले संविधान र जातीय विभेद कसुर सजाय ऐन–२०६८ ले छुवाछूतलाई स्पष्ट रूपमा अपराध मानेको स्मरण गराउँदै ती कानुनहरू दलित समुदायको लामो संघर्षपछि सम्भव भएको बताए ।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष ऋषिबाबु परियारले राज्यको रूपान्तरण मात्रले पुग्दैन, समाजको चेतनास्तर नै बदल्नुपर्ने बताए। उनले राज्य सञ्चालन गर्ने व्यक्तिहरूको मानसिकता परिवर्तन हुन नसकेसम्म कानुनले मात्र विभेद अन्त्य गर्न नसक्ने प्रष्ट पारे। “अहिले पनि राज्यका जिम्मेवार तहमा विभेदकारी सोच भएकाहरू छन्,” उनले तीखो आलोचना गरे।
त्यस्तै रण बहादुर रम्तेलले जातीय भेदभावलाई अझै पनि केही राजनीतिक दलहरूबाट संरक्षण भइरहेको गम्भीर आरोप लगाए। “सात प्रतिशत शक्ति यस्तो छ, जो छुवाछूत टिकाइराख्न खोज्छ। ती शक्ति सिंहदरबारमै छन्,” भन्दै उनले राज्यकै संरचनाभित्र विभेदको जरा रहेको उल्लेख गरे। सो कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने पनि आफनो बिचार राखेकी थिइन । उक्त कार्यक्रममा सगरमाथा सफल आरोहण कविता नेपालीलाई सम्मान गरिएको थियो । कार्यक्रम संचालन कोवज कुमार सिवाले गरेका थिए ।