
नेपाल भ्यालुयर्स एसोसिएशनको १४औं स्थापना दिवस: मूल्यांकनकर्ताप्रती नियामक र बैंक-वित्तीय संस्थाको दृष्टिकोण सुधार हुनुपर्नेमा जोड
२३ माघ, काठमाडौं । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए)ले आफ्नो १४औं स्थापना दिवस तथा वार्षिकोत्सब अन्तर्क्रिया तथा अन्य विविध कार्यक्रमहरुसहित बुधबार मनाएको छ । वि.स. २०६८ साल माघ २३ गते स्थापना भएको एनभिएले संस्थाका अध्यक्ष ई. संजय कुमार महतोको सभापतित्वमा विभिन्न कार्यक्रमसहित भव्यताका साथ ठमेलस्थित होटल यात्रीमा स्थापना दिवस सम्पन्न गरेको हो ।
वार्षिकोत्सब समारोहमा नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा.पदमबहादुर शाही प्रमुख अतिथि,नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष ई. सुभाषचन्द्र बराल र नेपाल इन्जिनियरिङ्ग परिषदका रजिष्ट्रार ई. शिवमंगल गिरी विशेष अतिथि रहने छन् । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु , सेन्टर फर डेमोक्रेटिक इन्जिनिर्यस एशोसियन नेपाल (सिडेन), प्रोगेसिभ इन्जिनियर्स एशोसियसन नेपाल (पिन), नेपाल राष्ट्रिय इन्जिनियर संगठन (निओन), स्क्याप, सोना लगायतका इन्जिनियरिङ संस्थाहरु, नेपाल बैंकर संघ, नेपाल डेभलमेन्ट बैंकर एशोसियशन, नेपाल वित्त संघ लगायतका संस्थाहरुलाई र नेपालभर छरिएर रहेका मुल्यांकनकर्ता इन्जिनियरहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका महासचिव ई. अशोक सिलवालले एनभिएको बारेमा संक्षिप्त जानकारी राख्दै बैंक , वित्तीय संस्था तथा नियामक निकायको मूल्याकंनकर्ताप्रतिको दृष्टिकोण सन्तुलित तथा न्यायसंगत हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे। उनले कर्जा प्रवाहमा हुने कमी कमजोरी लाई पनि मूल्यांकनकर्तासंग प्रत्यक्ष जोडी कारवाही हुने गरेकोमा विरोध जनाए।
नेपालमा मूल्याङ्कन पेशाको सुदृढीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाल भ्यालुयर्स एसोसिएशनले देशमा मूल्याङ्कनकर्ताको पेशासँग सम्बन्धित सबै मुद्दाहरूलाई सम्बोधन गर्न सहजकर्ताको भूमिका खेल्दै आएको छ । हाल एनभिएमा ९ सय भन्दा बढी संस्थागत सदस्यहरु र ३ हजार भन्दा बढी इन्जिनियरहरु आबद्ध छन् । यसमा घर जग्गा लगायतका सिभिल इन्जिनियरिङ संरचना, सवारी साधन लगायत सबै मेसिनरी उपकरणहरु, कृषि आदी मूल्याङ्कन गर्ने इन्जिनियरहरू आबद्ध छन् । संस्थाले आफ्नो सेवाहरूमा नैतिकता, गुणस्तर र व्यावसायिकताको उच्चतम मापदण्डहरू कायम राख्दै आएको जनाएको छ ।