
नेपाल प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त
४ चैत , काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेपछि ऊनी नेपाल प्रहरीको ३१औं प्रमुख बनेका हुन् । नवनियुक्त प्रहरी प्रमुख थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थिए ।
थापाले भोलि कार्यालय समयको शुरु हुनासाथ गृह सचिव गोकर्णमणि दुवाडीबाट दर्ज्यानी चिह्न (फुली) लगाएपछि महानिरीक्षकको कार्यभार सम्हाल्ने केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा निवृत्त हुन लागेका आईजी कुँवरसहितका उच्च अधिकृतको आज साझ सम्पन्न बिदाई समारोहमै कुँवरले थापालाई प्रहरी प्रमुखको जिम्मेवारी (चार्ज) हस्तान्तरण गरेका छन् । त्यस्तै , थापाले कार्यभार सम्हाल्ने क्रममा भोलि बिहान १० बजे उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका इन्चार्जको उपस्थिति अनिवार्य गरिएको छ ।
नेपाल प्रहरीका ३०औं आईजीपी वसन्त कुँवर आज राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन्। प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए । तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख छन् ।
प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ । सरकारले पहिलो वरियतामा रहेका थापालाई नै आईजीपी बनाएको हो। भक्तपुरको तत्कालीन सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए ।
नवनियुक्त आईजीपी थापा प्रहरी वृत्त, महाराजगञ्जको पनि प्रमुख रही सकेका छन् भने जिल्ला प्रहरी कार्यालय, रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको पनि कमाण्ड गरेका छन् । त्यस्तै , बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर समेत उनले काम गरेका छन् ।
थापा एसएसपी छँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका छन् भने डीआईजी छँदा बागमती प्रदेश प्रहरीको नेतृत्व गरे । पछि प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत उनले नेतृत्व गरे । प्रहरीमा ३० वर्षे सेवा अवधिको प्रावधान नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।