

नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारणसभा ललितपुरमा सम्पन्न
काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघका अध्यक्ष कृष्ण शर्माको सभापतित्व र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, कृषि विज्ञ लगायतको उपस्थिति रहेको थियो। सभा यही चैत ९ गते शनिबार ललितपुरमा सम्पन्न भएको हो।
उक्त कार्यक्रमलाई संवोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताए। उनले कृषिलाई यान्त्रीकिकरण गर्दै जानुपर्ने आवश्यकता भए पनि यस्ता उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताएका हुन् ।
मन्त्री अधिकारीले किसानले महङ्गोमा किनेका उपकरण बर्सेनि मर्मतकै लागि धेरै खर्च गर्नु परिरहेको भन्दै यस्तो अवस्था अन्त्य हुनपर्नेमा जोड दिए । ‘कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको छ । यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न आवश्यक छ । त्यो अवस्था नबन्दासम्म किसानले पनि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर मात्रै खरिद गर्न आवश्यक छ,’ उनले भने ।
मन्त्री अधिकारीले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषिप्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकारअघि बढिरहेको जानकारी दिए। आधुनिक कृषियन्त्र तथा उपकरणमा अनुदानका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भएको उल्लेख गर्दै उनले यसलाई अझ प्रभावकारी बनाउन सरोकार भएका पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कृषि क्षेत्रबाट फाइदा लिन निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने बताएका छन् । अध्यक्ष ढकालले कृषिमा पर्याप्त सम्भावना भएपनि नेपालले त्यसबाट फाइदा लिन नसकेको बताएका हुन् । उनले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागि कृषिको यान्त्रिकरण, आधुनिकिकरण र व्यवसायिकरणको गर्नुपर्ने बताए ।
‘नेपालको भौगोलक वनावट, हावापानीमा भएको विविधता, प्राकृतिक साधन र श्रोत हेर्दा कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना छ । यसलाई व्यवसायिक बनाउन सकियो भने लाखौ मानिसलाई कृषि मै रोजगारी सिर्जना गर्न सकिन्छ र देशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ । कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन सकिन्छ,’ उनले भने ।
देशलाई कृषि प्रदान भन्ने तर कृषि क्षेत्रलाई सधैं उपेक्षा गरिएको बताउँदै आउने बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिन र कार्यान्वयन योग्य बजेट निर्माणका लागि सरकारसंग आग्रह गरे ।
महासंघले कृषि उद्यम केन्द्रका माध्यमबाट विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिँदै उनले महासंघ ७७ जिल्लामा रहेका आफ्ना १२४ जिल्ला नगर उद्योग वाणिज्य संघहरुसंग समन्वय गरी सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषिमा अनुदानको व्यवस्था भएपनि त्यसको दुरुपयोग हुने गरेको उल्लेख गर्दै अनुदानलाई व्यवस्थित गर्नुपर्ने बताए ।
कार्यक्रममा उत्कृष्ट कृषक (२ जना ),उत्कृष्ट कृषि प्रत्रकार ( २ जना ), यस संघका सदस्य हरु मध्येबाट सबैभन्दा बढी आयकर बुझाउने उत्कृष्ट करदाताहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो।