दुर्गा प्रसाईंको गिरफ्तारीको विरोध गर्दै तत्काल रिहाइको माग
काठमाडौँ । प्रजातान्त्रिक पार्टी नेपालले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंलाई गरिएको गैरन्यायिक गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी अध्यक्ष डा. तारानाथ लुईटेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण भेला हुने तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको धज्जी उडाउँदै दुर्गा प्रसाईंलाई पक्राउ गरिएको भन्दै कडा निन्दा र भर्त्सना गरिएको छ। विज्ञप्तिमा उनलाई तत्काल बिना शर्त रिहा गर्न सरकारसँग माग गरिएको छ।
विज्ञप्तिमा दुर्गा प्रसाईं नेतृत्वको महाअभियान र सुशीला कार्की नेतृत्वको सरकारबीच भएको सम्झौता कार्यान्वयनको माग गर्दा उल्टै गिरफ्तार गर्नुले राज्यको दोहोरो चरित्र उदाङ्गो भएको उल्लेख गरिएको छ। सम्झौता कार्यान्वयन गर्नुको साटो सम्झौताकै दोस्रो पक्षलाई पक्राउ गर्नु राज्य आतंकको पराकाष्ठा भएको पार्टीको ठहर छ।
बारम्बार गिरफ्तारी र रिहाइजस्ता गतिविधिलाई विज्ञप्तिमा वचपना खेलको संज्ञा दिँदै यसले राज्यप्रति नागरिकको विश्वास पूर्ण रूपमा टुटेको दाबी गरिएको छ। साथै, यस प्रकारका घटनाले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको साख र इज्जत धुमिल भई कानुनी राज्यको उपहास भइरहेको आम नागरिकले महसुस गरेको उल्लेख गरिएको छ।
प्रजातान्त्रिक पार्टी नेपालले दुर्गा प्रसाईंलाई तुरुन्तै रिहा नगरिए यस कदमले राज्यलाई नै प्रत्यूत्पादक असर पार्ने चेतावनी दिएको छ। अन्यथा सिर्जित हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने स्पष्ट गरिएको छ। विज्ञप्तिमा अध्यक्ष डा. तारानाथ लुईटेलको हस्ताक्षर रहेको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

