
डोनाल्ड ट्रम्पले लिए ४७औं अमेरिकी राष्ट्रपतिको शपथ
काठमाडौं । ४७औँ अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले सोमबार ( २० जनवरी, २०२५ ) शपथ ग्रहण गरेका छन् । वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाए । राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । यसअघि सन् २०१६ मा उनी राष्ट्रपति निर्वाचित भएका थिए ।
गत नोभेम्बरमा भएको निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७औँ राष्ट्रपति चुनिएका हुन् ।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए । अत्यधिक चिसोका कारण यसपटक शपथ ग्रहण समारोह खुला स्थानमा आयोजना गरिएको थिएन ।
शपथ ग्रहण लगत्तै समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको बताए । शान्ति निर्माणकर्ता र एकीकरणकर्ताको रूपमा अमेरिकाले पुनः संसारलाई नेतृत्व गर्ने विश्वास दिलाउँदै उनले भने, ‘यो देश फस्टाउने छ र सम्मानित हुनेछ ।’