ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

काठमाडौं ।  ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुने निर्वाचनमा  अध्यक्षका लागि भविश्वर शर्मा समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । शनिबार (२९ असार )  ठमेल पर्यटन विकास परिषद् निर्वाचन २०८१ अन्तर्गत भविश्वर शर्मा नेतृत्वको साझा समूहले उम्मेदवारहरुको परिचय गराउदै  ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नेदेखि स्थानीय सम्पदा संरक्षणसम्मका योजना सार्वजनिक गरेको छ।

‘व्यवसायी र घरधनीबीच एकता, सफा, सुन्दर, सुरक्षित र डिजिटल ठमेल हाम्रो प्रतिबद्धता’ सहित यो समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको हो । भविश्वर शर्मा नेतृत्वमा सहदेव धमला, राजिव पाण्डे र चेतनाथ पुडासैनी उपाध्यक्ष पदमा उम्मेदवार रहेका छन् । महासचिवमा बद्रि प्रसाद तिमल्सिना, सचिवमा पुण्य राम लागेजुको उम्मेदवारी रहेको छ । कोषाध्यक्ष पदका उम्मेदवार प्रकाश थपलिया निर्विरोध निर्वाचित भइसकेको सो अवसरमा जानकारी दिइएको थियो । यसैगरी सदस्यहरुमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्ण प्रसाद चौलागाईँ, विनोद श्रेष्ठ, अमृत थोकर, सानुकाजी महर्जन र रमेश विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

परिषद्को असार ३१ गते २८ र २९ औँ वार्षिक साधारणसभा तथा अधिवेशन हुन लागेको हो । शर्माले दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवारी घोषणा गर्दै शान्तिपूर्ण र व्यवस्थित ठमेलको परिकल्पनालाई साकार पार्न दोस्रोपटक आफू उम्मेदवार बनेको घोषणा गरेका छन् । ठमेललाई २४ घण्टा सञ्चालनमा ल्याई सपिङको वैकल्पिक हब बनाउने लगायतका विभिन्न प्रतिबद्धता जनाउँदै शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय हब बनाउन आफू लागिपर्ने बताएका छन् ।

यस्ता छन् शर्मा नेतृत्वको समूहका प्रतिबद्धता एवं एजेण्डा

‘भविश्वर समूहको समय सापेक्षित नेतृत्व, ठमेलमा दिगो पर्यटन विकासको अस्तित्व’

ठमेल पर्यटन विकास परिषद (टीटीडीसी) निर्वाचन–२०८१

भविश्वर शर्मा समूह

ठमेल आजका दिनमा टुरिष्ठ हब मात्र रहेन यसले एक महत्वपूर्ण गन्तव्यको हैसियत पनि प्राप्त गरिसकेको छ। यो अन्तर्राष्ट्रिय स्तरको पर्यटन व्यवसायको क्षेत्र मात्र नमई परापूर्वकालेदेखि जीवन्त रहेको स्थानीय संस्कृतिको सुन्दर स्थल पनि हो। विदेशबाट नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत ठमेलमा उत्साहित रुपमा घुम्न आउने गर्दछन्। ठमेलको बहुआयामिक विकास र प्रभावकारी व्यवस्थापन पनि उत्तिकै आवश्यक रहेकोबारे हामी (भविश्वर शर्मा समूह) सचेत र संकल्पकृत छौं । ठमेल र यससँग सम्बन्धित सम्पूर्ण सरोकारवालाह‌रुसँग हातेमालो गर्दै हाम्रो समूह मन, वचन र कर्मले अगाडि बढ्न प्रतिबद्ध छ । जसका लागि हाम्रो समूहमा आत्मविश्वास र अनुभवले भरिपूर्ण साथीहरु समावेश हुनुहुन्छ । हामी कुराभन्दा काममा विश्वास गछौँ । ठमेललाई राष्ट्रि‌य तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि विगत दुई वर्षमा हामीले धेरै काम गरेका छौँ। स्थानीय सरकार सँगको सहकार्यमा ठमेलभित्रको ६२ ट्रिपर तार व्यवस्थापन, ११४ थान सिसि क्यामरा जडान, सहक कालो पत्रे, नयाँ २७ वटा विद्युतका पोल जडान, आवश्यकता अनुसार ट्रान्सफर्मर जडान, केही सडक बत्ती जडान र ढल व्यवस्थापन लगायतका कामलाई देखिनेगरी सम्पन्न गरेका छौँ। यसबाहेक परिषद‌्ले स्थापनाकालदेखि गर्दै आएको नेपाली नयाँ वर्ष र अङ्‌ग्रेजी नयाँ वर्षका कार्यक्रमहरु लाई निरन्तरता दिएका छौँ। ठमेल सडक फुड फेस्टिवल गरी आगामी दिनमा निरन्तरताका लागि अनुभव लिएका छौँ। यद्यपी समय अभावका कारण कतिपय कामहरु हामीले गर्न चाहेर पनि सकेनौँ, भ्याएनौँ ।

फेरि किन भन्ने प्रश्नमा ठमेल गुरुयोजना अन्तरगत यो वर्ष कान्तिपथ देखि सातघुम्ती सम्मको निर्माण कार्य सम्पन्न गर्न, पूर्णकालिन व्यवसाय संचालन गर्नका लागि जारी गरिएको आचार संहितालाई कार्यान्वयन गर्न, ठमेलको डिजिटल म्यापिङ तथा स्ट्रिट नम्बरिङ गर्न, संसार भरिका १०० ब्लगर्सहरुलाई ठमेलमा ल्याएर इन्टरनेश्नल ब्लगर्स पर्यटन सम्मेलन गर्न, इण्टरनेश्नल बुद्धिष्ट तथा हिन्दू गुरु पर्यटन सम्मेलन गर्न र ठमेल भित्रिने तथा बाहिरिने पर्यटक बोकेका सवारी साधनलाई पिकअप एण्ड ड«प स्टेसनको व्यवस्था गर्न भन्ने कुरा प्रष्ट्‌याउन चाहन्छौँ ।

हाम्रो २ वर्षे कार्यकालमा गर्न बाँकी रहेका अधुरा कामलाई पुरा गर्नका लागि पुनः तपाईहरुसमक्ष निम्नलिखित संकल्पपत्र लिएर आएका छौँ ।

१. डिजीटल ठमेल निर्माण

हामीले स्थानीय सरकार र सरोकारवाला निकायको सहकार्यमा ठमेलभित्रका समस्या समाधान गरिसकेपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित ठमेललाई प्रविधिको विकाससँगै डिजिटलरुपमा अगाडि बढाउन सकेका थिएनौँ । यसपटक हामी निर्वाचित भएर डिजीटल ठमेललाई पहिलो प्राथमिकतामा राखि ठमेल पर्यटन विकास परिषद्‌को आफ्‌नो वेभसाइटमार्फत सम्पूर्ण व्यवसायी तथा घरधनीको लिस्टिङ गरी स्वदेशी तथा विदेशी पर्यटकले आफूलाई चाहिने जानकारी र लोकेशन सहजै प्राप्त गर्नसक्ने र आवश्यक वस्तु तथा सेवाको खरीद तथा उपभोग गर्न मिल्ने गरी वेभसाईट निर्माण गरिनेछ । जसबाट व्यवसायीहरुले आफ्‌नो वस्तु तथा सेवालाई परिषद्‌कै साइटबाट प्रवर्द्धन र बिक्री गरी मुनाफा आर्जन गर्नसक्ने वातावरण बनाईनेछ । साथै, डिजिटल माध्यमबाट परिषद्का सदस्यज्यूहरुको गुनासो संकलन गरी समाधान लागि अधिकतम पहल गरिनेछ ।

कुनैपनि पर्यटक ठमेल प्रवेश गर्दा कुन घर र व्यवसाय कुन ठाउँमा छ भनेर सहजै पत्ता लगाउन सकोस् भन्ने उदेश्यले जिपिएस म्यापिङको काम अगाडि बढाई सकिएको छ । जसलाई शतप्रतिशत कार्यान्वयन गर्दै ठमेलभित्र भएका सम्पदाहरुको खोज, अनुसन्धान गरी पर्यटकको ठमेल बसाई थप लम्बाउन र ठमेलको संस्कृतिसँग पर्यटनलाई जोड्न सम्पदासम्बन्धी पुस्तक प्रकाशन गर्ने, टुर रुट तयार गर्ने कार्य अगाडि बढाईनेछ ।

२. विशेष पर्यटकीय क्षेत्र घोषणा

नेपाल सरकारबाट औपचारिक रुपमै ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गराउन प्रभावकारी पहल गरिनेछ । जसबाट ठमेल क्षेत्रको सबै व्यवसायीहरुलाई पर्यटकस्तरीय व्यवसायीको रुपमा सूचीकृत गरी व्यवसाय गर्न सहज वातावरण निर्माण गरिनेछ ।

३. शान्ति सुरक्षा

२४ सै घण्टा सञ्चालनमा आउँदा लागू गरिएको आचारसंहितालाई अक्षरशः पालना गरी सम्बन्धित निकायको सहकार्यमा सुरक्षित ठमेल, मर्यादित ठमेलको अवधारणालाई पूर्णता दिइनेछ । व्यवसायिक वातावरण र घरधनीको मौलिक अधिकार हनन् नहुने गरी व्यवस्थित गरिनेछ । आवश्यक थप सिसि क्यामरा, सडक बत्ती र परिषद्‌को पहलमा ठमेलभित्र २४ सै घण्टा सडक सुरक्षा गार्डको व्यवस्था गरिनेछ ।

४. ट्राफिक व्यवस्थापन

सरकोरवाला सबैलाई मान्य हुने गरी वैज्ञानिक ट्राफिक प्रणालीको कार्यान्वयनमा जोड दिँदै ठमेललाई अझ व्यवस्थित बनाउन प्रभावकारी पहल गरिनेछ । ठमेलका सबै सडक सवारीलाई नियमन गरी तीव्र गति, सडक पार्किङ, ध्वनी प्रदूषण र अनावश्यक सवारी चाप (पठाओ, खाली ट्याक्सी) लाई नियमन र नियन्त्रण गरिनेछ ।

५. फोहोर व्यवस्थापन

प्रभावकारी फोहोर व्यवस्थापन मार्फत ठमेललाई शतप्रतिशत प्रदूषण रहित बनाउन पहल गरिनेछ । फोहोरमात्र होइन, ध्वनि र दृश्य प्रदूषण नियन्त्रणका लागि पनि आवश्यक पहल गरिनेछ । ठमेलभित्रको नियमित सरसफाईलाई विशेष जोड दिइनेछ ।

६. तार तथा सडक बत्ती व्यवस्थापन

ठमेल पर्यटन विकास परिषद्‌को सक्रियतामा ठमेलभित्रको तार व्यवस्थापन भइसकेको र केही बाँकी व्यवस्थापन गर्नुपर्ने कुरालाई निरन्तरता दिई सडक बत्ती जडानको कार्य अधि बढिसकेको अवस्थामा उज्यालो ठमेलको अवधारणालाई पुरा गरिनेछ ।

७. विकृतिमुक्त ठमेल

व्यवसायमात्र होइन, पछिल्ला केही बर्षदेखि यो क्षेत्रमा अनेक खालका विकृतिहरु पनि देखापर्दै आएका छन् । विकृतिजन्य क्रियाकलाप र हकर तथा ब्रोकर सम्बन्धी समस्याहरुका बारेमा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गरी सभ्य ठमेल बनाउन पहल गरिनेछ ।

८. व्यवस्थित ठमेल

गत कार्यकालमा ठमेल पर्यटन विकास परिषद‌्ले फुटपाथ, नाङ्‌लापसले, फलफूल व्यापारी आदिका कारण सिर्जित समस्यालाई व्यवस्थापन गरीसकेको छ । उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

९ घरबेटी–व्यवसायीबीच सुमधुर सम्बन्ध

घरबेटी–व्यवसायीबीच सुमधुर सम्बन्ध निर्माणका लागि आवश्यक कार्यक्रम गरिनेछ । बेलाबेलामा दुवै पक्षलाई राखेर उनीहरुबीच अन्तरकृयात्मक कार्यक्रम गर्ने जसबाट हामी एकै परिवारका सदस्य हौँ भन्ने भावना अझै बलियो हुनेछ ।

१०. स्थानीय रितिरिवाज र संस्कृतिको जगेर्ना

ठमेलभित्र हुने मेला, स्थानीय सांस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्न विशेष कार्यक्रम बनाईनेछ । त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रवर्द्धनका कार्यक्रम (जस्तै आर्ट फेस्टिवल, फुड फेस्टिवल, संस्कृति झाँकी प्रदर्शनी, खेल पर्यटन, नेपाली मौलिक कला प्रदर्शनी) गरिनेछ ।

११. स्थानीय सम्पदा संरक्षण र प्रवर्द्धन

ठमेलस्थित विक्रमाशिल महाविहाराभित्र रहेको बुद्ध धर्मको पवित्र ग्रन्थ प्रज्ञापारमिताको प्रचार गरी पर्यटनसँग जोडिनेछ । कागतिहारको दिनमा मनाउने सुकुन्दा र्यालीलाई प्रवर्द्धन गरिनेछ । होली पर्वको भोलिपल्ट गरिने चक्यद्यः जात्रालाई प्रवर्द्धन र प्रचार गरिनेछ । भगवानबहाल क्षेत्रमा मनाईने गाईजात्रालाई पर्यटनसँग जोड्‌ने गरी विशेष प्रचारप्रसार गरिनेछ ।

१२.अनिवार्य गन्तव्य

ठमेललाई पर्यटकको अनिवार्य गन्तव्यको रुपमा विकास गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटनसँग सम्बन्धीत अन्य सरोकारवाला निकायहरुसँग समन्वय गरी प्रभावकारी पहल गरिनेछ ।

१३. गोलमेच

ठमेललाई अझ सुन्दर, व्यवस्थित र पर्यटकीय आकर्षणका हिसाबले सबल बनाउन ठमेलसँग सम्बन्धित सबैलाई एकै थलोमा आमन्त्रण गरेर गोलमेच आयोजना गरी ठमेल गुरुयोजनालाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।

१४. सम्पदा भ्रमण

ठमेल व्यवसायिक केन्द्रमात्र होइन, सम्पदास्थल पनि हो। अनेक मन्दिर बहाल, चोक र गल्लीहरुको उचित व्यवस्थापन र प्रचारसहित ठमेलमा सम्पदा भ्रमणको अवधारणालाई विकास गर्दै लगिनेछ । हिटी टू हिटी वाक अवधारणा ल्याइनेछ ।

१५. निःशुल्क तालिम

ठमेलमा विभिन्न व्यवसायमा कार्यरत कर्मचारीहरूलाई समयानुकुल दक्ष बनाउनका लागि आवश्यकताअनुसार निःशुल्क तालिम सञ्चालन गरिनेछ ।

१६. सेल्फीस्ट्रिट

ठमेलभित्रका खाली भित्ताहरुमा कला र संस्कृति झल्किने पेन्टिङ गरी सांस्कृतिक सेल्फीस्ट्रिट बनाइनेछ।

१७. विविध

डिजिटल ठमेल, वाकिङ फ्रेन्ड्‌ली ठमेल, ठमेलको वैज्ञानिक र प्रस्ट म्यापिङ, फ्रि वाइफाई ठमेल, सडक मेला पर्यटक फुटपाथ आन्तरिक पर्यटन प्रवर्द्धन, पूर्णकालिन व्यवसायको वैज्ञानिक व्यवस्थापन लगायत ठमेलसँग सम्बन्धित कुनै पनि समस्या र समाधानबारे आवश्यक समन्वय र प्रभावकारी पहल गरिनेछ

अन्त्यमा,

सफा, सुन्दर, सुरक्षित र डिजीटल ठमेल हामी सबैको साझा संकल्प पनि हो। यसका लागि हातमा हात र साथमा साथले मात्र सम्भव हुन्छ । आउनुहोस् यो अभियानमा हामी सँगै अगाडि बढौँ ।

भविश्वर शर्मा समूह, प्रचार प्रसार समिती ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)

निर्वाचन–२०८१

त्यस्तै , परिषद्को नयाँ नेतृत्वका लागि ध्रुव अधिकारी नेतृत्वको समावेशी समूह पनि प्रतिष्पर्धामा रहेको छ ।

युवा व्यवसायी रमेश विश्वकर्मा सदस्यका उम्मेदवार

परिषदको आसन्न निर्वाचनमा भविश्वर शर्मा समुहबाट युवा व्यवसायी रमेश विश्वकर्माले सदस्यमा उम्मेदवारी दिएका छन् । विगत १५ वर्षदेखि ठमेलमा पर्यटन व्यवसायमा रहेर व्यवासायका साथै विभिन्न सामाजिक कामबाट लोकप्रियता हासिल गरेका उनका कामहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यममा समेत प्रकाशित हुँदै आएका छन् । परिषदमा निर्वाचित भएमा ठमेलको पर्यटन क्षेत्रमा थप योगदान दिने गरि काम गर्ने विश्वास उनले व्यक्त गरे।

The post ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    १९ मंसिर , काठमाडौं  नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल…

    Read more

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    १९ मंसिर , काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी  वर्ल्डलिंकले आफ्ना २५ बर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसेन्सहरु नवीकरण गरेको जानकारी दिएको छ।वर्ल्डलिंक विगत २९ वर्षदेखि…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    • By
    • December 4, 2024
    • 8 views

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    • By
    • December 4, 2024
    • 8 views

    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 4, 2024
    • 2 views
    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    आज स्वर सम्राट् नारायण गोपालको ३४औँ स्मृति दिवस

    • By
    • December 4, 2024
    • 8 views

    दुई वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 4, 2024
    • 8 views

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    • By
    • December 4, 2024
    • 8 views