
ट्रम्प प्रशासनको ‘डज’ ले एमसीसीलाई सधैंको लागि बन्द गर्ने
वासिङ्टन डीसी । अमेरिकामा ट्रम्प प्रशासनको सरकारी खर्च कटौती विभाग (डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी – डज) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसीलाई बन्द गर्ने भएको छ । कार निर्माण कम्पनी टेस्ला, अन्तरिक्ष कम्पनी स्पेसएक्स र टेक्नोलोजी कम्पनी एक्स कर्पोरेसनका मालिक इलन मस्क नेतृत्वको डजले अमेरिकी सङ्घीय सरकारको खर्च कटौती गर्ने प्रयास अन्तर्गत विकासशील देशहरूको आर्थिक वृद्धिदरलाई टेवा दिने यो सङ्घीय एजेन्सी पूरै बन्द गर्न लागेको हो ।
मंगलबार ( ९ वैशाख ) एजेन्सीका कर्मचारीहरूलाई कर्मचारी र कार्यक्रममा उल्लेख्य कमी आउने ब्यहोरासहितको इमेल पठाइएको थियो । डजका अधिकारी एमसीसीमा पुगेको एक हप्ता नबित्दै यो इमेल पठाइएको एक स्रोतले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । छिटोमा मे ५ सम्ममा कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्न सकिने स्रोतको भनाइ छ ।
कानुनतः नै एजेन्सीमा नेतृत्व चाहिने भएकोले कार्यकारी सीईओबाहेक सबै कर्मचारीलाई हटाउन लागिएको बताइएको छ । पछिल्लो समय डजले विदेशी सहायतामा व्यापक कटौती गरेको छ । यसअघि नै सरकारले अमेरिकी विदेश सहायता नियोग यूएसएड बन्द गर्ने प्रक्रिया थालिसकेको थियो ।
त्यसपछि शान्तिका लागि अमेरिकी संस्था र अफ्रिकी विकास फाउन्डेशनलाई पनि बन्द गरियो । यीमध्ये कयौँ प्रयासले त कानुनी चुनौतीको सामना गरिरहेका छन् । एमसीसी २००४ मा कंग्रेसले स्थापना गरेको थियो ।
एमसीसीले सीमित अवधिका लागि नेपाल, युक्रेन, एल साल्भाडोर जस्ता दर्जनौँ विकासशील देशलाई पूर्वाधार विकास र नीतिगत सुधारका लागि अनुदान दिने गरेको छ । अमेरिकाले चीनको बेल्ट एन्ड रोड इनिशियटिभको प्रतिक्रियामा एमसीसी ल्याएको थियो ।