काठमाडौं–६ बाट प्रजातान्त्रिक पार्टी नेपालका मिश्रको उम्मेदवारी, नुवाकोटे मतदाताको बलियो साथको आश
काठमाडौं । फागुन २१ गते हुन गइरहेको संघीय संसद् निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रजातान्त्रिक पार्टी नेपालका नेता उद्धव प्रसाद मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारी दर्ता गरेपछि मिश्र औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै नेता मिश्रले काठमाडौं–६ का मतदाताले आफूलाई विश्वास गरेर जिताउने आशा व्यक्त गरे । उनले यस क्षेत्र नुवाकोट मूलका नागरिकहरूको उल्लेख्य बसोबास रहेको जनाउँदै सामाजिक, सांस्कृतिक र भावनात्मक निकटताका कारण आफूलाई जनसमर्थन प्राप्त हुने विश्वास रहेको बताए । “यो क्षेत्र मेरो गृह जिल्ला नुवाकोटसँग गहिरो रूपमा जोडिएको छ । यहाँ बसोबास गर्ने धेरै मतदातासँग मेरो प्रत्यक्ष चिनजान र आत्मीय सम्बन्ध छ,” उनले भने ।
मिश्रले आफू जनताको दैनिक समस्या, आवश्यकता र अपेक्षाबारे जानकार रहेको दाबी गर्दै चुनाव जितेपछि जनमुखी र जवाफदेही प्रतिनिधिका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । विकास, सुशासन र नागरिक अधिकारको संरक्षण आफ्नो मुख्य प्राथमिकता हुने उनको भनाइ छ । उनले ठूला नाराभन्दा व्यवहारिक र दीर्घकालीन समाधानमा केन्द्रित राजनीति आवश्यक रहेको उल्लेख गरे ।
प्रजातान्त्रिक पार्टी नेपालले यस निर्वाचनलाई वैचारिक स्पष्टता र संस्थागत लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिएको मिश्रको भनाइ छ । पार्टीले काठमाडौं–६ लाई महत्वपूर्ण क्षेत्रका रूपमा लिँदै संगठित रूपमा चुनावी अभियान अघि बढाउने तयारी गरिरहेको जनाएको छ ।
काठमाडौं क्षेत्र नम्बर ६ मा विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तो अवस्थामा मिश्रको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । अब मतदाताले कसलाई विश्वास गर्छन् भन्ने अन्तिम निर्णय फागुन २१ गतेको मतदानबाट तय हुनेछ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.