
ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
भक्त केसी,
४ असार, काठमाडौं । नेपालको राजनीति अनेक संघर्ष, बलिदान र निरन्तर आन्दोलनको जगमा निर्माण भएको हो। राणा शासनदेखि प्रजातन्त्र, पञ्चायती व्यवस्था, बहुदलीय लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा जनताले अनेक सपना देखे — समानता, न्याय र समृद्धिको। तर ती परिवर्तनका पृष्ठभूमिमा रहेका हजारौं राजनीतिक पीडितहरूको कथा भने आज पनि अदृश्यतामा बिलाएका छन्। देश बचाउने नाममा होमिएका, आफ्नो घरबारभन्दा राष्ट्रलाई माया गर्ने, प्राण त्याग्ने मनस्थितिसम्म पुगेका ती संघर्षकर्ताहरूको वर्तमान अवस्था उपेक्षा र मौनतामा गुम्सिएको छ।
आफ्नै छोराछोरीभन्दा मातृभूमिलाई माया गरेका ती सपनावादीहरू आज घरको कुनामा चुपचाप बसिरहेका छन्। न त राज्यले सम्मान दियो, न समाजले मूल्यांकन गर्यो। राजनीतिक परिवर्तनका मूलधारमा रहेकाहरू सत्ताको आहालमा रमाइरहेका बेला ती परिवर्तनलाई सम्भव बनाउने हातहरू ओझेलमा परेका छन्। न्यायका लागि पटक–पटक सरकारी ढोकामा पुग्दा पनि कानुन मौन देखिएको अनुभूति उनीहरूको साझा पीडा हो।
एक जना जनआन्दोलनका भुक्तभोगी भन्छन्, “हामी बोल्दैनौं भने अन्याय फेरि दोहोरिन्छ।” उनी आज पनि यातना र अन्यायको घाउ बोकेर पीडाको क्षतिपूर्ति र मान्यताको पर्खाइमा छन्। उनीजस्ता धेरै छन्, जसले आफ्नो युवावस्था र सम्भावना आन्दोलनमा समर्पित गरे, तर अहिले न परिचय छ, न प्रतिष्ठा। पछिल्ला दुई दशकमा राज्यविरुद्ध आवाज उठाउँदा जेल, यातना, मृत्यु र गुमनाम जीवन रोज्नेहरूको संख्यामा हजार पुगेको छ। तर ती सबै संघर्ष आज इतिहासका पानामा सीमित छन्, व्यवहारमा तिनीहरूको पुनःस्थापना अधुरो, सुनुवाइ सुस्त र न्याय अनिश्चित देखिन्छ।
मानवअधिकारकर्मीहरू भन्छन्, “राजनीति पीडितलाई न्याय दिनु संवैधानिक र नैतिक जिम्मेवारी पनि हो।” तर यथार्थ के छ भने, राज्यले नीति र संरचनामा पीडितहरूको पुनःस्थापनाबारे चर्चा गरे पनि कार्यान्वयनमा इच्छाशक्ति देखिएको छैन। शक्ति सन्तुलन र भागबण्डामा सीमित राजनीतिको प्राथमिकतामा पीडितहरूको स्थान छैन। प्रक्रिया अलमलमा छ, कानुन मौन छ र बोल्ने नेतालाई यो मुद्दा चासोको विषय लाग्दैन।
मौनता केवल सहनशीलता होइन, अन्यायको बीउ हो। आज यदि हामी बोल्दैनौं भने, भोलिको पुस्ताले यही पीडा झेल्नुपर्नेछ। मौनताले अन्यायलाई पुनः जन्म दिन्छ। यो अवस्था केवल राजनीतिक पीडितमा सीमित छैन — हरेक वर्ष बाढी, पहिरो र विपद्ले खोलातिरका जनताको जीवन मृत्युको छेउसम्म पुर्याउँछ। सरकारका घोषणा र भाषणहरू थुप्रै छन्, तर कार्यान्वयनमा मौनता छ। संसदमा बहस जनताको पीडाका लागि होइन, सत्ताको रणनीतिका लागि मात्र हुन्छ।
आजको राजनीतिलाई हेर्दा लाग्छ — यो जनसेवा होइन, पद प्राप्तिको सुविधा यन्त्र बनेको छ। समाज रूपान्तरणको अभ्यास होइन, निजी लाभको सीढी हो। राजनीति अब विचार र मूल्यको आन्दोलन हैन, भागबण्डाको युद्ध बनेको छ। संविधान र कानुनको नाममा चलाइएको शासन स्वार्थमा आधारित हुँदा लोकतन्त्रको जग कमजोर हुँदै गइरहेको छ।
बुद्धिजीवीहरू चेतावनी दिन्छन् — “राम्रो राजनीति बिना सुशासन र समृद्धि सम्भव छैन।” यदि राजनीति झूट, धोका र स्वार्थमा मात्रै सीमित रह्यो भने जनताले फेरि सडक रोज्नेछन्। जनता एकपटक उठे भने इतिहास बदल्न सक्छन्, तर बारम्बार धोका खाँदा उनीहरू निराश, उदास र राजनीतिप्रति वितृष्ण भइदिन्छन्।
राजनीतिप्रति जनविश्वासको संकट गहिरिँदै गएको छ। नेताहरू जनतालाई नभई एक–अर्कालाई सम्झाउँछन्, सत्ताको भागबण्डा गर्छन्, चुनावमा सुनिएका वाचा केवल सम्झनामा सीमित हुन्छन्। बेरोजगारी, भ्रष्टाचार, स्वास्थ्य–शिक्षाको असमानता, सामाजिक सुरक्षाको कमजोर व्यवस्था, अनि सर्वसाधारणको सहभागिता घट्दै जानु — यी सबै कुरा जनताको राजनीति प्रति मोहभङ्ग गराइरहेका छन्।
अन्ततः, यदि हामीले आज पीडितहरूको कथा सुनेनौं, तिनको न्याय सुनिश्चित गरिएन भने, भोलिका पुस्ताले पनि फेरि आन्दोलनको बाटो रोज्नुपर्नेछ। परिवर्तन केवल नारा होइन, न्यायको व्यवहारिक अनुभूति हो। नत्र परिवर्तनको नाममा गरिएको सम्पूर्ण संघर्ष केवल इतिहासको अध्याय भएर सीमित हुनेछ। न्याय सुनिश्चित नगर्दा गणतन्त्रको जग पनि भासिनेछ। राजनीति अब केवल भाषणको विषय होइन — जनताका आँसु पुछ्ने संवेदनशील अभ्यास बन्नु आवश्यक छ। केसीः राप्रपा नेपालका नेता हुन ।