
एनआरएनए एकता महाधिवेशनको निर्वाचन प्रक्रिया वैशाख २०-२२ गतेसम्म ; कार्यतालिका प्रकाशित
११ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही वैशाख २० देखि २२ गतेसम्म (मे ३–५, २०२५) काठमाडौँमा हुने एकता महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । निर्वाचन समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिको अनुसार एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२५-२७ कार्यकालको लागि अध्यक्ष १, उपाध्यक्ष खुल्ला ६, उपाध्यक्ष (महिला) १, महासचिव १ सहित ३६ जना पदाधिकारीहरू चयन गर्न निर्वाचन गराइने छ ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी मनोनय दर्ता पहिलो दिन २० गते तोकिएको छ । १२ गते शुक्रबार मतदाता प्रथम नामावली प्रकाशन गर्ने, १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र वैशाख २० गते उम्मेदवारको मनोनयन गर्ने तय भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै , वैशाख २१ गते ( ४ मे २०२५) काठमाडौँमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
उच्चस्तरीय समितिद्वारा प्रमाणीकरण भएका प्रतिनिधि (डेलिगेट)ले तोकिएको मनोनयन दस्तुर बुझाएर उम्मेदवारी मनोनयन गर्नु पर्नेछ ।
निर्वाचन समितिले एकता महाधिवेशनको मर्म अनुरूप स्वतन्त्र निष्पक्ष र पारदर्शी निर्वाचन गराउन सहयोग गर्न सबै पक्षलाई आग्रह पनि गरेको छ ।
सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको हो । वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती सदस्य रहेका छन् ।