आज लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

0
19

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले संयुक्तरुपमा मूल समारोहको आयोजना गर्दैछन् ।

लुम्बिनीबाट संघीयताको सफल अभ्यासको सन्देश : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको स्पष्ट सन्देश देशभर दिन प्रदेश सरकार सफल भएको बताएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको उल्लेख गरेका हुन् ।

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकार गठन भएयता संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन र नीतिगत संरचना निर्माण गरिएको छ । ती कानुनी तथा नीतिगत व्यवस्थाले प्रदेश सरकारको कार्यान्वयन क्षमता बलियो बनाउँदै संघीयताको व्यवहारिक अभ्यासलाई मजबुत आधार दिएको उनले बताएका छन् ।

उनले संघीयताको औचित्य कागजमा होइन, व्यवहारमै देखिनुपर्ने उल्लेख गर्दै नीतिगत सुधार, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र कृषि लगायत सामाजिक तथा आर्थिक क्षेत्रको सन्तुलित विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे । संविधानको पूर्ण पालना र संरक्षणका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश सरकारले सक्रिय भूमिका निर्वाह गर्दै आएको पनि उनको भनाइ छ । संघीय संरचनाको सम्मान, अधिकारको व्यवहारिक कार्यान्वयन र स्रोतसाधनको सुनिश्चिततामा लुम्बिनी प्रदेश सधैँ स्पष्ट र दृढ रहेको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

प्रदेश सरकार स्थापना भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारको अन्त्यलाई कार्यसम्पादनको मूल आधार बनाइएको उनको सन्देशमा उल्लेख छ । सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रियामा पारदर्शिता र सार्वजनिक उत्तरदायित्व बलियो बनाउने काम निरन्तर भइरहेको बताउँदै उनले चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्च बढाउने नीतिलाई कडाइका साथ कार्यान्वयन गरी विकास आयोजनाहरू अघि बढाइएको जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले राजनीतिक रूपमा प्राप्त संघीयतालाई प्रशासनिक र वित्तीय संघीयताका रूपमा समेत संस्थागत गर्न अब ढिलाइ गर्न नहुने उल्लेख गरेका छन् । संघीयताको सवलिकरण र औचित्य व्यवहारमा उतार्दै प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार अझ दृढताका साथ अघि बढ्ने उनको प्रतिबद्धता छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी र आम नागरिकको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी प्रदेश निर्माणका लागि साझा प्रयास आवश्यक रहेको बताएका छन् ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here