
अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन सम्पन्न
२६ चैत्र, काठमाडौं । आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ काठमाडौंमा सम्पन्न भएको छ ।
एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (अस्पा) नेपालद्वारा आयोजित यो सम्मेलनमा १४ अन्तर्राष्ट्रिय देशहरूका विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण र व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र तालिमप्राप्त जनशक्तिको खाँचो रहेको उल्लेख गर्नु भएको थियो । उहाँले दमकल बाहेक अन्य वैकल्पिक उपायहरूको विकासमा सरकारले गम्भीरता देखाइरहेको र डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको बताउनु भएको थियो ।
सम्मेलनका प्रमुख सन्देशहरू घोषणा पत्र मार्फत सार्वजनिक गरिएको छ । घोषणापत्रमा सार्वजनिक चेतनाको अभिवृद्धि, भवन कोडको आधुनिकीकरण, डढेलो तथा शहरी वन डढेलोको जोखिम न्युनिकरण, ड्रोन प्रयोगको मापदण्ड, कृत्रिम बुद्धिमत्ताको जिम्मेवार उपयोग, विद्युतीय सवारीसाधनमा आगलागीको व्यवस्थापन, सुरक्षासम्बन्धी उत्पादनका मापदण्ड, शैक्षिक पाठ्यक्रममा सुरक्षाको समावेश र क्षेत्रीय सहकार्य जस्ता १० प्रमुख बुँदामा प्रतिबद्धता जनाइएको छ ।
अस्पा नेपालका अध्यक्ष सुनिल कुमार श्रेष्ठले सम्मेलनमा उठेका विचार, सिफारिसहरू र प्रविधिमूलक समाधानहरूलाई सम्बन्धित सरकारी निकायहरू समक्ष प्रस्तुत गर्दै नीतिगत सुधारको दिशामा सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले आगलागी सुरक्षा र विद्युतीय सुरक्षालाई केवल प्राविधिक विषय मात्र नभई जनताको जीवन, पूर्व तयारी र समग्र सुरक्षासँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताउनु भयो ।