
अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को जन्म
३ वैशाख, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) गठन भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रम गरी नाइमाको औपचारिक घोषणा गरिएको हो ।
अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा फुटेर नाइमा जन्मिएको हो ।कार्यक्रममा नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले नाइमाले अटो मोबिलिटी सशक्तिकरणको वकालत गर्ने बताउनु भयो ।
उनले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवद्र्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै नाइम अगाडि बढ्ने उहाँले बताउनु भयो ।
नाइमाले मोबिलिटीमार्फत विकास सशक्त बनाउने लक्ष्य राखेको र दिगो तथा उद्योगको विकास तथा समृद्धिमा केन्द्रित रहने उनको भनाइ थियोे ।
अध्यक्ष वैद्यले गाडी आयातकर्ता र गाडी उत्पादकको आवाज उठाउन संस्था दर्ता गरेको बताउनु भयो । त्यस्तै ,सञ्चालक समिति सदस्य सुहृद घिमिरेले कसैसँग द्वन्द्व बढाउने नभई सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनु भयो ।
नाइमा सञ्चालक समितिमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदायन काब्रा सञ्चालक सदस्य छन् । नाइमाले अगस्ट ६ देखि १० गतेसम्म अटो मोबिलिटी एक्स्पो सञ्चालन गर्दै छ ।